काठमाडौं- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई ‘मेडिकल सिटी’को रूपमा विकास गरिए पनि मानसिक रोगको उपचारको सुविधा पर्याप्त नभएको बताएकी छन्। उनले यो कमीलाई पूरा गर्न भरतपुरमा मानसिक अस्पताल स्थापना गर्न सबै पक्षबीच साझा संकल्प आवश्यक भएको उल्लेख गरिन्।
चितवन मेडिकल कलेजमा बिहीवार सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै मेयर दाहालले भनिन्, “विशेषज्ञ सेवा प्राप्त गर्न सकिने थलोको रूपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा अझै पनि कमी महसुस गरिएको छ।”

उनले भरतपुरलाई मेडिकल सिटीको रूपमा थप विकसित गर्न आफू इच्छुक र तत्पर रहेको बताइन्। साथै, संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारका प्रतिनिधिहरू सम्मेलनमा सहभागी भएकाले मानसिक स्वास्थ्यसम्बन्धी नीतिनिर्माण र कार्यक्रम कार्यान्वयनमा सबैको जिम्मेवारी रहेको स्पष्ट पारिन्।
जनताको स्वास्थ्यप्रति भरतपुर महानगरपालिकाको गम्भीर चासो रहेको उल्लेख गर्दै उनले “एक वडा, एक स्वास्थ्य नीति”अन्तर्गत महानगरका २९ वटै वडामा ४२ वटा स्वास्थ्य संस्था संचालनमा रहेको जानकारी दिइन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सीमित स्रोतसाधनमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताए। उनले अझै पनि समुदायस्तरमा मानसिक रोगको उपचारको पहुँच नपुगेको उल्लेख गर्दै मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ उत्पादन गर्न राज्य लागिपरेको जानकारी गराए।
कार्यक्रमका अध्यक्ष तथा चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही योगदान दिन सकियोस् भनेर सम्मेलनको आयोजना गरिएको बताए।
कार्यक्रम संयोजक डा. श्रीधर पौडेलले विकसित देशहरूमा पनि मानसिक रोग गम्भीर रूपमा देखिने गरेको उल्लेख गर्दै, ती देशहरूमा रोग लुकाउने प्रवृत्ति घट्दै गएकाले नेपालजस्ता विकासोन्मुख देशहरूमा पनि मानसिक रोग खुलस्त रूपमा छलफल हुनुपर्ने बताए। सम्मेलनमा स्वदेशी तथा विदेशी विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक तथा समाजसेवीहरूबाट गरिने छलफलमार्फत मानसिक स्वास्थ्यका समस्यालाई न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सम्मेलनमा अमेरिका, नर्वे, भारत, नेपाललगायत विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ।







