
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख महिनामा देशभरका ८ संघीय अस्पतालमा थप तथा विस्तार गर्न लागिएको १५ सेवाको सूची सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यी सेवाहरू स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नीति अनुरूप विस्तार गरिंदैछन्।
उनका अनुसार वीर अस्पतालले सर्जिकल आइसीयूको सेवा विस्तार गर्दैछ, जहाँ वैशाख दोस्रो साता नौ शैय्या थपिनेछ।
चितवनको भरतपुर अस्पतालले वैशाख चौथो सातादेखि क्याथ ल्याब सेवा सुरु गर्दैछ। साथै, जलन वार्ड, सिमुलटेसन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब पनि थपिने छन्।
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि पीआईसीयू र पेडियाट्रिक वार्ड वैशाख दोस्रो साताबाट सञ्चालनमा आउनेछ।
नेपालगन्जको भेरी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या थप गर्ने योजना अघि सारेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालले वैशाखको अन्त्यसम्ममा क्याथ ल्याब सञ्चालनमा ल्याउनेछ भने तनहुँको जीपी कोइराला राष्ट्रिय श्वास-प्रश्वास केन्द्रले हेमोडायलासिस सेवा वैशाख तेस्रो सातादेखि सुरू गर्नेछ।
धनगढीको गेटा अस्पतालले मोड्युलर ओटी, आकस्मिक वार्ड र अक्सिजन प्लान्ट एकै साथ वैशाख तेस्रो साताभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत चैत्रमा १२ संघीय अस्पतालमा विभिन्न सेवा विस्तार भइसकेको थियो। चालु आर्थिक वर्षभित्र अझै अन्य संघीय अस्पतालहरूमा पनि सेवा विस्तार गरिने मन्त्रालयले जनाएको छ।



