
काठमाडौँ – नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूलाई सरकारले आठौँ तहसरहको निर्वाह भत्ता दिनुपर्ने माग गर्दै त्यसको तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।
संघको आज बसेको बैठकले हाल आन्दोलनरत आवासीय चिकित्सकहरूलाई निसर्त र सुरक्षित रूपमा पुनः काममा फर्कन सक्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
चिकित्सक संघले आफ्ना मागहरू बेवास्ता भए कार्यदलको कुनै पनि गतिविधिमा सहभागी नहुने चेतावनी दिएको छ।
सरकारले निजी मेडिकल कलेजमा स्नातकोत्तर तह (पीजी) अध्ययनरत आवासीय चिकित्सकहरूलाई दिने निर्वाह भत्ताको विषयमा गत वैशाख ३ गते शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो।
त्यही कार्यदलका संयोजक काफ्लेलाई संघका महासचिव डा. सञ्जिव तिवारीले पत्र लेख्दै, मागहरू पूरा नभएसम्म संघ कार्यदलको काममा संलग्न नहुने निर्णय गरेको जानकारी गराएका हुन्।
हाल देशभरका १७ वटा मेडिकल कलेजमा अध्ययनरत दुई हजारभन्दा बढी आवासीय चिकित्सक सरकारले घोषणा गरेको निर्वाह भत्ता लागू नभएको भन्दै आन्दोलनमा छन्।




