
सिराहा- लहानस्थित प्रादेशिक अस्पतालमा कार्यरत छात्रवृत्ति तथा प्रदेश करारमा नियुक्त चिकित्सक र नर्सहरूले लामो समयदेखि तलब तथा भत्ता नपाएको विरोधमा आजदेखि आकस्मिकबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार उनीहरूले विगत ९ महिनादेखिको ओभरटाइम र रात्री भत्ता तथा चार महिनादेखिको तलब नपाएको गुनासो गर्दै पटक–पटक सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदै आएका थिए । तर, कुनै सुनुवाइ नहुँदा बाध्य भएर सेवा बहिष्कार गर्नुपरेको बताएका छन् ।
छात्रवृत्ति र करारमा कार्यरत स्वास्थ्यकर्मीहरूले अस्पताल प्रमुखमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधाम, स्वास्थ्य सेवा विभाग टेकु, काठमाडौं र जिल्ला प्रशासन कार्यालय सिराहालाई जानकारी गराएका छन् ।
उनीहरूले तलब, ओभरटाइम र रात्री भत्ता खातामा जम्मा नभएसम्म नियमित सेवा सञ्चालन नगर्ने अडान लिएका छन् । स्वास्थ्यकर्मीहरूले तत्काल माग सम्बोधन नगरेमा आन्दोलन अझ व्यापक बनाउने चेतावनीसमेत दिएका छन् ।
उनीहरूकाे सेवा बहिष्कारका कारण आजबाट लहान अस्पतालको ओपीडी र अन्य सेवा प्रभावित भएको छ भने बिरामीहरू ठूलो समस्यामा परेका छन् ।



