
सर्लाही- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा सञ्चालन भइरहेका १९ वटा अवैध स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उनी शनिबार साँझ निजी स्वास्थ्य संस्थाहरूको अनुगमनका लागि लालबन्दी आइपुग्नुभएको थियो। अनुगमनको क्रममा उहाँले लालबन्दी र नवलपुर क्षेत्रमा रहेका २३ वटा स्वास्थ्य संस्थाको निरीक्षण गरे ।
मुख्यमन्त्री सिंहका अनुसार अनुगमन गरिएका २३ मध्ये दुईवटा अस्पतालसँग मात्र सेवा सञ्चालन अनुमति पत्र दुरुस्त रहेको पाइएको छ भने अन्य दुई अस्पताल नवीकरण आवश्यक देखिएको छ । अनुमति बिना तथा मापदण्ड विपरीत सञ्चालन भएका १९ वटा स्वास्थ्य संस्थालाई तुरुन्तै बन्द गर्न निर्देशन दिएका छन् ।
यसअघि पनि मुख्यमन्त्री सिंहले लालबन्दी नगरपालिकास्थित नवलपुर क्षेत्रका स्वास्थ्य संस्थाको अनुगमन गरेका थिए । उनले अनुगमनपछि बन्द गरिएका अस्पतालहरू पुनः सञ्चालन भइरहेको गुनासो आएको बताउँदै प्रदेश प्रहरी प्रमुख (डीआईजी) लाई स्थानीय प्रहरी परिचालन गरी निगरानी गर्न निर्देशन दिएका छन् ।
शनिबार बेलुका मुख्यमन्त्री सिंहले महोत्तरीको बर्दिवास र सर्लाहीको लालबन्दी क्षेत्रका स्वास्थ्य संस्थाको अनुगमन गर्नुहुँदै, शुक्रबारसम्म प्रदेशभर ७५ वटा अवैध स्वास्थ्य संस्था बन्द गराइएको जानकारी दिए । उनले कतिपय स्थानीय तहहरूले अधिकार क्षेत्रबाहिर गएर बन्द गरिएका स्वास्थ्य संस्थाहरूलाई अस्थायी सञ्चालन अनुमति प्रदान गरेको पाइएको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री सिंहका अनुसार प्रदेश सरकारले बारम्बार अनुगमन गर्न नसक्ने भएकाले अब स्थानीय प्रहरीमार्फत निगरानी गर्ने व्यवस्था मिलाइसकिएको छ ।


