

काठमाडौं । स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा सापकोटाले काठमाडौंलगायत प्रमुख सहरमा महँगा जग्गा खरिद गरी घर निर्माण गरेको, सवारीसाधन खरिद गरेको तथा आम्दानीको तुलनामा अस्वाभाविक जीवनशैली बिताएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।
आयोगले सापकोटाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्मलाई जाँच अवधि कायम गरी सम्पत्ति तथा आय–व्ययको अनुसन्धान गरेको जनाएको छ।
अनुसन्धानका क्रममा उक्त अवधिमा सापकोटाको पारिश्रमिक, भत्ता, सवारीसाधन तथा जग्गा बिक्री, घरबहाल, कृषि, सेयर बिक्रीलगायत विभिन्न स्रोतबाट प्राप्त वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा रहेको पाइएको आयोगले जनाएको छ।
तर सोही अवधिमा घरजग्गा खरिद तथा निर्माण, सेयर र सवारीसाधन खरिद, कर्जा भुक्तानी, अध्ययन तथा वैदेशिक भ्रमणलगायतमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च भएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
आयोगका अनुसार वैधानिक आयको तुलनामा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ। यही रकमलाई बिगो कायम गरी सापकोटाविरुद्ध भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनअनुसार कैद तथा जरिवानाको मागदाबी गरिएको छ।
अख्तियारले सापकोटाले सार्वजनिक पदको दुरुपयोग गरी अस्वाभाविक जीवनयापन गरेको तथा सम्पत्ति विवरणसमेत झुट्टा पेस गरेको दाबी गरेको छ।
अनुसन्धानका क्रममा स्रोत नखुलेको सम्पत्तिबाट उनकी श्रीमती निरजा पण्डितको नाममा समेत घरजग्गा तथा अन्य सम्पत्ति खरिद गरेको पाइएको आयोगले जनाएको छ। उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्रै पण्डितलाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।



