

काठमाडौं – बाढीबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आर्या फार्मा ल्याब प्रालि र चितवन मेडिकल कलेजले नुवाकोटमा सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्।
बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फार्मा ल्याबले यसअघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। राहत अभियानलाई निरन्तरता दिँदै कम्पनीले अब चितवन मेडिकल कलेजसँगको सहकार्यमा प्रभावित बस्तीमै पुगेर स्वास्थ्य सेवा दिन लागेको हो।
विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी सञ्चालन हुने शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित भैरवडाँडामा आयोजना गरिनेछ।
शिविरमा स्थानीयवासीले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श लिनुका साथै आवश्यक औषधि र विभिन्न रोगको परीक्षण सेवा प्राप्त गर्नेछन्। जटिल स्वास्थ्य समस्या भएका वा थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि गरिने जनाइएको छ।
बाढीपछि उत्पन्न कठिन परिस्थितिमा आर्थिक तथा व्यावहारिक समस्याका कारण प्रभावित परिवार स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै बस्तीमै स्वास्थ्य सेवा पुर्याउन लागिएको हो।
आर्या फार्मा ल्याबले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित नागरिकको स्वास्थ्य सुरक्षा र पुनःस्थापनाका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।



