

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता तथा ज्यान गुमाएका नागरिकको वैज्ञानिक पहिचानका लागि डीएनए प्रोफाइलिङलाई तीव्र पारिएको छ।
बाढीका कारण लामो समय पानी र हिलोमा डुबेका तथा गलेर क्षतविक्षत अवस्थामा भेटिएका शवको परम्परागत विधिबाट पहिचान गर्न कठिन भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीले डीएनए परीक्षणलाई मुख्य आधार बनाएका हुन्।
नेपाल प्रहरीका अनुसार हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। तीमध्ये ८९७ शवबाट डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा गाडिएको छ। आफन्तबाट पहिचान दाबी नआएका कारण ती शवको व्यवस्थापन गरिएको हो। आगामी दिनमा आफन्तबाट संकलन गरिएको डीएनएसँग शवको नमुना भिडाएर पहिचान गर्ने सरकारको तयारी छ।
फरेन्सिक विज्ञहरूका अनुसार धेरै गलेका वा क्षतविक्षत शवबाट रगतको नमुना लिन सम्भव हुँदैन। यस्तो अवस्थामा लामो समयसम्म सुरक्षित रहने दाँत र तिघ्राको हड्डीलाई डीएनए परीक्षणका लागि प्राथमिक नमुनाका रूपमा प्रयोग गरिन्छ।
शवबाट सामान्यतः ५ देखि १० सेन्टिमिटर लामो हड्डीको टुक्रा वा दाँत निकालेर नमुना तयार गरिन्छ। नमुना दूषित नहोस् भनेर सुकाएर कागजको खाममा छुट्टाछुट्टै प्याक गरी प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ।
मृतकको पहिचानका लागि बेपत्ता व्यक्तिका बुवा, आमा, छोरा वा छोरीजस्ता प्रथम तहका आफन्तको डीएनएसँग शवबाट निकालिएको नमुना तुलना गरिन्छ। प्रथम तहका आफन्त उपलब्ध नभएमा सहोदर दाजुभाइ वा दिदीबहिनीको नमुना प्रयोग गर्ने गरिन्छ।
काठमाडौँ उपत्यकाभित्र नेपाल प्रहरी अस्पताल तथा महाराजगञ्जस्थित प्याथोलोजी ल्याबमा नमुना दिन सकिने व्यवस्था गरिएको छ। उपत्यकाबाहिर भने सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्न भनिएको छ। नमुना दिन आउने आफन्तले नाता खुल्ने आधिकारिक कागजात, मञ्जुरीनामा र दुई प्रति पासपोर्ट साइजको फोटो ल्याउनुपर्नेछ।
विदेशमा रहेका आफन्त वा विदेशी नागरिकका हकमा सम्बन्धित देशको आधिकारिक फरेन्सिक प्रयोगशालाबाट डीएनए प्रोफाइल तयार गरी नेपाल प्रहरीको आधिकारिक इमेलमार्फत डिजिटल प्रति पठाउन सकिने व्यवस्था गरिएको छ।
सामान्य अवस्थामा एउटा डीएनए परीक्षणको नतिजा केही दिनदेखि एक–दुई साताभित्र प्राप्त हुन सक्ने भए पनि सामूहिक विपद्का कारण यसपटक ठूलो संख्यामा नमुना परीक्षण गर्नुपर्ने अवस्था छ। सबै बेपत्ता परिवारको एकीकृत डीएनए डाटाबेस तयार गर्न करिब तीन महिना लाग्न सक्ने फरेन्सिक विज्ञहरूको अनुमान छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानले विपद्का कारण शव गलेको वा सडेको अवस्थामा रगतबाट नमुना लिन सम्भव नहुने भएकाले दाँत र हड्डीबाट डीएनए निकालिने बताए।
उनका अनुसार शवबाट निकालिएको नमुनालाई आफन्तको डीएनएसँग तुलना गरी पहिचान कायम गरिन्छ। विगतमा पनि बाढी, पहिरो तथा अन्य विपद्मा बेवारिसे अवस्थामा भेटिएका शवको डीएनए परीक्षणमार्फत पहिचान गरी परिवारलाई बुझाइएको उनले बताए।
फरेन्सिक वैज्ञानिक निराजन थापा क्षेत्रीका अनुसार सामान्य अवस्थामा एउटा शव र दाबी गर्ने आफन्तको नमुना परीक्षण गर्दा केही दिनमै नतिजा आउन सक्छ। तर सामूहिक विपद्मा शव एक जिल्लामा र आफन्त अर्को जिल्लामा हुन सक्ने भएकाले पहिले सबै बेपत्ता परिवारको डीएनए डाटाबेस तयार गर्नुपर्ने हुन्छ।
हाल ठूलो संख्यामा नमुना संकलन भइरहेकाले डाटाबेस तयार गर्न करिब तीन महिना लाग्ने अनुमान गरिएको छ। पानी र माटोमा लामो समय रहेका शवको डीएनए बिग्रिन सक्ने जोखिमसँगै सीमित जनशक्ति, पूर्वाधार र परीक्षण किटका कारण प्रयोगशालामा समेत ठूलो दबाब परेको छ।
विज्ञहरूका अनुसार डीएनए मानिसको आनुवंशिक पहिचान बोकेको जैविक आधार भएकाले पारिवारिक नाता तथा मृतकको पहिचान पुष्टि गर्ने सबैभन्दा विश्वसनीय वैज्ञानिक माध्यममध्ये एक हो। भोटेकोशी बाढीमा ठूलो संख्यामा शव क्षतविक्षत अवस्थामा फेला परेकाले आफन्तलाई आफ्ना परिवारका सदस्यको पहिचान गराउन डीएनए परीक्षण निर्णायक माध्यम बन्ने देखिएको छ।



