
काठमाडौं- सरकारले आरोग्य अध्ययन तथा पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकतामा राख्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई आरोग्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गरिने बताएका हुन् ।
सरकारले योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आध्यात्मिक अध्ययनसँग सम्बन्धित आरोग्य पर्यटनलाई विस्तार गर्ने नीति अघि सारेको छ ।
नीति तथा कार्यक्रममा नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य केन्द्रका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार विकास, अध्ययन–अनुसन्धान तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
यस पहलमार्फत स्वास्थ्य, संस्कृति र पर्यटनलाई एकीकृत गर्दै देशलाई नयाँ पर्यटन गन्तव्यका रूपमा अघि बढाउने सरकारको लक्ष्य रहेको छ ।


