
काठमाडौँ – किष्ट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल र भारतको मेदान्त-गुरुग्राम बीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य चिकित्सकहरूबीच अनुभव साटासाट गरी जटिल रोगहरूको उपचार र व्यवस्थापन सम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको थियो।
कार्यक्रममा मेदान्तका वरिष्ठ निर्देशक कार्डियाक सर्जरी डा. सुरिन्दर बाजाज र चेयरम्यान न्युरोसाइन्स डा. भी. पी. सिंह विशेष उपस्थित थिए। उनीहरूले किष्टका चिकित्सकहरूसँग अन्तरक्रिया गर्दै आफ्नो दीर्घ अनुभव र विशेषज्ञता साझा गरेका थिए।
कार्यक्रममा किष्टका १०० भन्दा बढी युवा चिकित्सक सहभागी थिए। अन्तरक्रियाका क्रममा चिकित्सकहरूबीच अनुभव आदान–प्रदान भएको थियो र जटिल क्लिनिकल केसहरूबारे संक्षिप्त छलफल पनि गरिएको थियो, जसले सहभागी चिकित्सकहरूलाई महत्वपूर्ण सिकाइको अवसर प्रदान गरेको थियो।
किष्ट र मेदान्त बीच केही महिनाअघि सुरु भएको सहकार्य अन्तर्गत टेलिमेडिसिन सेवा पनि सञ्चालनमा रहेको छ, जसले जटिल रोगका बिरामीहरूलाई भारत जानुपर्ने झन्झट कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
भारतको गुरुग्राममा अवस्थित मेदान्त बहुविशेषज्ञता सेवा प्रदान गर्ने अग्रणी अस्पताल हो भने किष्ट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल नेपालकै पहिलो राष्ट्रिय स्तरको अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक प्रमाणपत्र प्राप्त मेडिकल कलेज हो। यसले गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिइरहेको छ।


