
ललितपुर- विश्व क्यान्सर दिवसको अवसरमा ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले क्यान्सर बिरामीका लागि निःशुल्क सेवा र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
अस्पतालले विश्व क्यान्सर दिवसलाई लक्षित गर्दै माघ २१ गतेदेखि फागुन १६ गतेसम्म क्यान्सर बिरामीका लागि निःशुल्क क्यान्सर ओपीडी सेवा उपलब्ध गराउने घोषणा गरेको छ। साथै, उपचाररत क्यान्सर बिरामीका लागि क्यान्सर वार्डमा निःशुल्क बेड सुविधा पनि प्रदान गरिने अस्पतालले जनाएको छ।
अनुभवी तथा भरपर्दा क्यान्सर विशेषज्ञहरूको टिमबाट उपचार तथा परामर्श पाउने यो अवसर क्यान्सर बिरामीका लागि महत्वपूर्ण हुने अस्पतालको विश्वास छ। क्यान्सर उपचारका लागि विश्वासिलो अस्पताल खोजिरहेका बिरामीलाई लक्षित गर्दै अस्पतालले सेवा लिन आग्रह गरेको छ।
यसै अवसरमा बुधबार काठमाडौंमा क्यान्सर सर्भाइभरहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै विश्व क्यान्सर दिवस मनाइएको हो। कार्यक्रम अस्पतालको क्यान्सर विभागको आयोजनामा सम्पन्न भएको थियो।
कार्यक्रममा क्यान्सर विभागका विभागीय प्रमुख प्राडा. विष्णुदत्त पौडेलले क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गरेमा निको हुने सम्भावना धेरै हुने बताए। उनले क्यान्सरलाई लिएर डराउनेभन्दा पनि सजग र सचेत हुनुपर्नेमा जोड दिए।
‘क्यान्सर जोकोहीलाई पनि लाग्न सक्छ,’ प्राडा. पौडेलले भने, ‘क्यान्सर लागेपछि बिरामीलाई परिवार, साथीभाइ र समाजको साथ–सहयोग अत्यन्तै महत्वपूर्ण हुन्छ।’
कार्यक्रममा क्यान्सर उपचार गराइरहेका बिरामी, क्यान्सर विजेता, क्यान्सर विशेषज्ञ चिकित्सक तथा अस्पतालका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विश्वभर फेब्रुअरी ४ का दिन विश्व क्यान्सर दिवस मनाइन्छ। किष्ट शिक्षण अस्पतालले पनि क्यान्सरविरुद्धको लडाइँमा आफू बिरामीको साथमा रहेको सन्देश दिँदै विशेष सेवा र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।


