

काठमाडौं- ‘युनाइटेड बाइ युनिक’ भन्ने नाराका साथ यस वर्षको विश्व क्यान्सर दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै गर्दा, क्यान्सर डर होइन समयमै उपचार गरे जित्न सकिने रोग भएको सन्देश पुनः स्थापित भएको छ।
ललितपुरस्थित बीएण्डबी अस्पतालमा आयोजित कार्यक्रम तथा अन्तर्वार्तामा क्यान्सर विशेषज्ञ, नर्स र क्यान्सर पीडितहरूले एउटै स्वरमा भने- समयमै पहिचान र उपचार नै क्यान्सर जित्ने सबैभन्दा ठूलो हतियार हो।
बीएण्डबी अस्पतालकी क्यान्सर स्तन शल्य चिकित्सक डा. बनीरा कार्कीले क्यान्सर दिवसको सन्दर्भमा भनिन्,
‘युनाइटेड बाइ युनिक भन्ने नाराले हामी सबै फरक भए पनि क्यान्सर बिरामीलाई साथ दिन एकजुट हुनुपर्छ भन्ने सन्देश दिन्छ। क्यान्सर बिरामीले एक्लो महसुस गर्नु हुँदैन।’
उनका अनुसार क्यान्सर केवल औषधि वा शल्यक्रियाले मात्रै होइन, मनोबल र साथले पनि जितिन्छ।
अस्पतालमा उपचाररत एक क्यान्सर पीडितले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘सुरुमा थाहा नै भएन। दुखेको पनि थिएन। नुहाउँदा स्तनमा गिर्खा देखेपछि अस्पताल आएँ। सुरुमा समस्या धेरै थियो, तर यहाँ उपचार गराउँदा अहिले धेरै सहज भएको छ।’
क्यान्सर उपचारमा नर्सहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउँदै बीएण्डबी अस्पतालकी नर्स सबिता महर भन्छिन्, ‘बिरामीहरू धेरैजसो शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि कमजोर भएर आउँछन्। हामी उनीहरूलाई हौसला दिन्छौं, आत्मबल बढाउने प्रयास गर्छौं र निरन्तर केयर गर्छौं।’
त्यस्तै, नर्स सरिता कुमारी राईका अनुसार क्यान्सर भन्नासाथ डराउनु आवश्यक छैन। ‘समयमै पत्ता लागे क्यान्सरको उपचार सम्भव छ। क्यान्सर जित्न सकिन्छ भन्ने विश्वास बिरामीमा जगाउनु सबैभन्दा ठूलो उपचार हो,’ उनले भनिन्।
क्यान्सर पीडित तथा नर्स सुन्दरी महर्जनले आफ्नो संघर्ष सुनाउँदै भनिन्, ‘स्तनमा गाँठा आएपछि डाक्टरको सल्लाहमा बायोप्सी गरें। पहिलो चरणको क्यान्सर रहेछ। समयमै थाहा पाएँ। अहिले म काम गर्दै सामान्य जीवन बाँचिरहेकी छु। म क्यान्सरलाई जित्न सक्छु भन्ने आत्मविश्वास छ।’
बीएण्डबी अस्पतालका ल्याप्रोस्कोपिक तथा क्यान्सर शल्य चिकित्सक डा. सुदीपरत्न साक्यले हरेक क्यान्सर बिरामीको कथा फरक हुने उल्लेख गर्दै भने, ‘क्यान्सर भनेको अन्त्य होइन। समयमै पहिचान भयो भने धेरै प्रकारका क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ।’
उनका अनुसार समाजमा अझै पनि क्यान्सरप्रति डर र भ्रम रहेको भन्दै, सचेतना, नियमित जाँच र सकारात्मक सोच नै क्यान्सरविरुद्धको बलियो हतियार हो।


