
काठमाडौं – बी एन्ड बी हस्पिटलले एकै वर्षमा साढे २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै उल्लेखनीय आर्थिक वृद्धि गरेको छ। अस्पतालले गत आर्थिक वर्षमा कुल २ अर्ब ५७ करोड रुपैयाँको कारोबार गरेको हो।
रेटिङ विवरणअनुसार अस्पतालले सन् २०२४ मा १ अर्ब ९५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो। यसअघि सन् २०२३ मा १ अर्ब ४२ करोड ६० लाख, सन् २०२२ मा १ अर्ब ३२ करोड ७० लाख र सन् २०२१ मा ९४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको देखिन्छ। पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको अस्पतालको कारोबार सन् २०२५ मा ३१ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा अस्पतालको कुल कारोबार २६ प्रतिशतले वृद्धि भएको छ भने फार्मेसी कारोबारमा उल्लेखनीय रूपमा ६० प्रतिशतको वृद्धि भएको रेटिङमा उल्लेख छ। सोही अवधिमा अस्पताल ६१ प्रतिशत अकुपेन्सी लेभल मा सञ्चालन भएको जनाएको छ।
हाल बी एन्ड बी हस्पिटलले २ सय ३० शैय्याबाट सेवा दिइरहेको छ। यसअघि सन् २०२४ मा भने अस्पतालले २ सय १४ शैय्यामार्फत सेवा प्रदान गर्दै आएको थियो।
अस्पतालका अनुसार अर्थोपेडिक्स र जेनरल सर्जरी सेग्मेन्टबाट उच्च कारोबार हुँदै आएको छ। यद्यपि, गत आर्थिक वर्षमा भने सन् २०२४ को तुलनामा यी सेग्मेन्टको योगदान केही घटेको देखिएको छ। सन् २०२४ मा कुल आम्दानीको ५१ प्रतिशत अर्थोपेडिक्स र जेनरल सर्जरीबाट आएकोमा गत आवमा यो हिस्सा ४७ प्रतिशतमा झरेको उल्लेख छ।
ललितपुर जिल्लाको ग्वार्कोमा अवस्थित बी एन्ड बी हस्पिटलले मेडिकल, सर्जिकल तथा डाइग्नोस्टिक सेवा प्रदान गर्दै आएको छ। हाल अस्पतालले विशेषगरी अर्थोपेडिक्स, जेनरल सर्जरी र यूरोलोजी सेग्मेन्टलाई प्राथमिकतामा राखेको जनाएको छ। साथै, चरणबद्ध रूपमा कार्डियोलोजी, न्यूरोलोजी, अन्कोलोजी लगायतका क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको अस्पतालले जनाएको छ।
डा. अशोककुमार बाँस्कोटा र डा. जगदिशलाल वैद्यको स्वामित्व रहेको अस्पतालका मेडिकल निर्देशक डा. बाँस्कोटा तथा प्रबन्ध निर्देशक डा. वैद्य रहेका छन्। सन् १९९४ मा ३ सय शैय्याको लक्ष्यसहित स्थापना भएको अस्पतालले हाल विभिन्न बहुआयामिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ९४ करोड ४१ लाख रुपैयाँको रेटिङ गराएको छ। जसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ८६ करोड ९१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ करोड ५० लाख रुपैयाँको रेटिङ गरिएको हो।


