
ललितपुर- नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले ‘आस्क फर एक्स्पर्ट’ कार्यक्रम सम्पन्न गरेको छ। सर्भाइकल क्यान्सर अवारनेस मन्थ को अवसर पारेर बिहीबार अस्पताल परिसरमा आयोजना गरिएको ५५औँ क्यान्सर सर्भाइभर मिट अन्तर्गत उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा क्यान्सर विशेषज्ञ चिकित्सकहरूले क्यान्सर सर्भाइभर तथा उपचाररत बिरामीहरूले राखेका जिज्ञाशाको प्रत्यक्ष उत्तर दिएका थिए। ‘आस्क फर एक्स्पर्ट’ सत्रको सुरुवातमै एक सहभागीले सोधेको प्रश्नले सबैको ध्यान खिच्यो। ‘डा.साब, क्यान्सर भएका मानिसले मेकअप गर्न सक्छन् कि सक्दैनन् ?’ उनले साेधेकी थिइन्।
यसको उत्तर दिँदै विशेषज्ञ चिकित्सक डा. अनु बज्राचार्यले केमिकलरहित मेकअप प्रयोग गर्न सकिने बताइन्। “केमिकल नहुने मेकअप र सामान्य ग्रुमिङ गर्न मिल्छ, तर उपचारका क्रममा केमिकलयुक्त सामग्री प्रयोग गर्नु हुँदैन,” उनले स्पष्ट पारिन्।
नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले पनि यस विषयमा थप स्पष्ट पार्दै भने, “मेकअप गर्न नहुने भन्ने होइन, तर उपचारका क्रममा सकेसम्म नेचुरल रहनु हाम्रो सुझाव हो।”

कार्यक्रममा सहभागीहरूले क्यान्सर बिरामीलाई दिइने भ्याक्सिन कहिले र कसरी लगाउने भन्ने विषयमा पनि जिज्ञासा राखेका थिए। उक्त जिज्ञाशाको उत्तर दिंदै डा. मुरारीमान श्रेष्ठले क्यान्सर सर्भाइभर तथा उपचाररत बिरामीहरूलाई दिइने भ्याक्सिनबारे विस्तृत जानकारी दिएका थिए।
यसैगरी डा. कपिन्द्रशेखर अमात्यले रोबोटिक सर्जरी र परम्परागत सर्जरीबीचको फरकबारे बिरामीहरूमा रहेको कौतुहलता मेटाउने प्रयास गरे। उनले आधुनिक प्रविधिले उपचारलाई अझ सुरक्षित र प्रभावकारी बनाएको बताए।
‘आस्क फर एक्स्पर्ट’ कार्यक्रममा क्यान्सर सर्भाइभर र उपचाररत बिरामीहरूले स्वास्थ्य, जीवनशैली, उपचार प्रक्रिया र मनोवैज्ञानिक पक्षसँग सम्बन्धित थुप्रै प्रश्नहरू राखेका थिए। ती प्रश्नहरूको उत्तर डा. सुदीप श्रेष्ठ, डा. अनु बज्राचार्य, डा. मुरारीमान श्रेष्ठ, डा. गिसुप निख प्रसिको, डा. कपिन्द्रशेखर अमात्य, डा. सरोज चटौत, डा. प्रभातचन्द्र ठाकुर, डा. हरिप्रसाद दाहाल लगायतका विशेषज्ञ चिकित्सकहरूले दिएका थिए।
कार्यक्रमको अध्यक्षता गरेकी क्यान्सर सपोर्ट समूहकी उपाध्यक्ष तथा नेपाल क्यान्सर अस्पतालकी बोर्ड सदस्य स्वरुपा श्रेष्ठले ‘आस्क फर एक्स्पर्ट’ कार्यक्रम क्यान्सर सर्भाइभर र बिरामीहरूलाई चिकित्सकसँग खुला रूपमा आफ्ना मनका कुरा राख्न र आत्मविश्वास बढाउन उद्देश्यले आयोजना गरिएको बताइन्।
नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले अस्पतालमा ओपीडीमार्फत नियमित रूपमा बिरामी, क्यान्सर सर्भाइभर तथा उनीहरूका आफन्तसँग सल्लाह दिइँदै आएको उल्लेख गरे।


