
काठमाडौं- घुँडा र कुमसम्बन्धी समस्या बढ्दै गइरहेका बेला आधुनिक चिकित्सा प्रविधि आर्थोस्कोपीले उपचार पद्धतिमा ठूलो परिवर्तन ल्याएको छ। चिरा नलगाइकन सानो प्वाल बनाएर जोर्नीभित्रका समस्या पत्ता लगाएर उपचार गर्ने यो प्रविधि आज ओपन सर्जरीको विकल्पका रूपमा स्थापित हुँदै गएको छ।
बीएण्डबी अस्पतालका अर्थोपेडिक्स सर्जन डा. विवेक वाशुकलाले आर्थोस्कोपीलाई छिटो निको हुने, कम पीडादायी र सुरक्षित उपचार विधि भएको बताए। उनका अनुसार यो प्रविधिबाट घुँडा मात्र होइन, कुम, कुहिनो, नाडी, खुट्टाका टेका लगायत शरीरका प्रायः सबै जोर्नीहरूको उपचार सम्भव छ।
डा. वाशुकलाका अनुसार परम्परागत ओपन सर्जरीमा ठूलो चिरा पार्नुपर्ने भएकाले घाउ बन्ने, संक्रमणको जोखिम बढ्ने र निको हुन समय लाग्ने समस्या हुन्थ्यो। तर आर्थोस्कोपीमा सानो प्वालबाट दुरबिन र उपकरण छिराएर उपचार गरिने भएकाले बिरामी छिट्टै हिँडडुल गर्न सक्छन्।
डा. वाशुकलाका अनुसार आर्थोस्कोपी मुख्यतः दुई प्रकारका हुन्छन्। पहिलो, डाइग्नोस्टिक आर्थोस्कोपी, जसमा जोर्नीभित्रको समस्या पत्ता लगाउन दुरबिनमार्फत प्रत्यक्ष अवलोकन गरिन्छ। दोस्रो, थेरापेटिक आर्थोस्कोपी, जसमा पहिचान गरिएको समस्याको उपचार सोही प्रक्रियाबाटै गरिन्छ।
उनका अनुसार आर्थोस्कोपी प्रविधिबाट लिगामेन्ट र मिनिस्कस जस्ता संवेदनशील संरचनाको उपचार सहजै गर्न सकिन्छ।
मिनिस्कस जोगाउनुपर्छ
घुँडाको स्वास्थ्यमा मिनिस्कसको भूमिका अत्यन्त महत्वपूर्ण हुने डा. वाशुकलाको भनाइ छ। मिनिस्कसले घुँडाको दुई हड्डीबीच कुसनको काम गर्दै शरीरको तौल सहन मद्दत गर्छ। मिनिस्कसमा चोट लागेपछि हड्डीहरू आपसमा घर्षण हुन थाल्ने र क्रमशः हड्डी खिइँदै जाने खतरा रहन्छ।
उफ्रिँदा, दौडिँदा वा अचानक मोडिँदा घुँडामा ‘किट्रिक्क’ आवाज आउनु र केही समयपछि सुन्निनु मिनिस्कसमा समस्या आएको संकेत हुन सक्छ। मिनिस्कसको उपचार अवस्था हेरेर खुरकेर निकाल्ने (मेनिसेक्टोमी) वा सिलाएर जोगाउने (मेनिस्कस रिपेयर) विधिबाट गरिन्छ। सकेसम्म मिनिस्कस जोगाउनु नै दीर्घकालीन रूपमा घुँडाका लागि लाभदायक हुने डा. वाशुकलाको सुझाव छ।
लिगामेन्ट च्यातिएपछि के हुन्छ ?
लिगामेन्ट भनेको हड्डीलाई हड्डीसँग जोड्ने तन्तु हो, जसले घुँडालाई स्थिर र चलायमान बनाइराख्छ। खेलकुद, उफ्रिने–दौडिने क्रममा घुँडा ठोक्किँदा वा अचानक मोडिँदा लिगामेन्ट च्यातिन सक्छ।
चोट लागेपछि तुरुन्तै घुँडा सुन्निनु, ‘पड्किएको’ आवाज आउनु, घुँडाले भर नपाएजस्तो हुनु लिगामेन्टमा समस्या आएको प्रमुख लक्षण हुन्। डा. वाशुकलाका अनुसार अहिले आर्थोस्कोपिक एसीएल सर्जरी मार्फत सानो प्वालबाटै लिगामेन्टको सफल उपचार गरिन्छ, जुन पहिले ठूलो घाउ बनाएर गर्नुपर्थ्यो।
लिगामेन्ट उपचारमा ग्राफ्ट विधि प्रयोग गरिन्छ, जसमा शरीरकै अन्य भागबाट लिइएको तन्तु च्यातिएको लिगामेन्टको स्थानमा प्रत्यारोपण गरिन्छ।
सर्जरी मात्रै होइन, फिजियोथेरापी पनि उत्तिकै आवश्यक
डा. वाशुकलाका अनुसार हड्डी तथा जोर्नीसम्बन्धी उपचारमा ५० प्रतिशत सफलता शल्यक्रियाबाट र बाँकी ५० प्रतिशत फिजियोथेरापीबाट निर्भर हुन्छ। सर्जरीपछि नियमित व्यायाम, फिजियोथेरापी र चिकित्सकको सल्लाह पालना नगरे समस्या दोहोरिन सक्ने उनी बताउँछन्।
उनले घुँडामा चोट लागेपछि लापरबाही नगरी समयमै विशेषज्ञ चिकित्सकको सल्लाह लिन आग्रह गर्दै आधुनिक प्रविधिको सही प्रयोगले बिरामीलाई पुनः सक्रिय जीवनतर्फ फर्काउन सकिने बताए।

