
काठमाडौं- बिएण्डबी अस्पतालमा ५४ वर्षीया महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । अस्पतालका अनुसार ती महिलाले आइभिएफ (इन भिट्रो फर्टिलाइजेशन) प्रविधिमार्फत पहिलो प्रयासमै गर्भधारण गरेकी थिइन् र सोमबार शल्यक्रियामार्फत शिशुको जन्म भएको हो।
उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्या रहेकी महिलाको प्रसूति चिकित्सकीय दृष्टिले चुनौतीपूर्ण मानिए पनि विशेषज्ञ चिकित्सकहरूको टिमको सक्रिय निगरानी र उपचारका कारण आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रसूति गराउने प्रमुख चिकित्सक डा. नुतन शर्माले बढ्दो उमेरका बाबजुद महिलालाई सन्तान सुख दिन सफल भएकोमा खुशी व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत खुशी साट्दै उनले आफ्नो सम्पूर्ण मेडिकल टिम तथा बिएण्डबी अस्पताललाई धन्यवाद ज्ञापन गरेकी छन्।
चिकित्सकहरूका अनुसार यो सफल प्रसूति घटनाले आधुनिक प्रजनन प्रविधि र विशेषज्ञ सेवाको महत्वलाई थप पुष्टि गरेको छ।
प्राकृतिक रूपमा महिलाको डिम्बाशयमा अण्डा बन्ने, त्यो अण्डा डिम्बनली (ट्युब) हुँदै पाठेघरमा पुग्ने र सोही समयमा पुरुषको विर्यसँग संयोजन भएर भ्रुण बन्ने प्रक्रिया नै सामान्य गर्भधारण प्रक्रिया हो। बनेको भ्रुण पछि पाठेघरमा बस्छ र गर्भ विकास हुन्छ।
तर, कुनै कारणले अण्डा नबन्ने, डिम्बनली बन्द हुने, अण्डा र विर्यको संयोजन हुन नसक्ने वा अन्य स्वास्थ्य समस्याका कारण प्राकृतिक रूपमा गर्भधारण हुन नसकेमा आइभिएफ विधि प्रयोग गरिन्छ।
आइभिएफ प्रक्रियामा महिला र पुरुषबाट अण्डा र विर्य झिकेर प्रयोगशालामा संयोजन गरिन्छ। त्यसरी बनेको भ्रुणलाई विशेष उपकरण (इन्क्युबेटर) मा तीनदेखि पाँच दिनसम्म विकास गराइन्छ र पछि महिलाको पाठेघरमा राखिन्छ। यही प्रक्रियालाई इन भिट्रो फर्टिलाइजेशन (आइभिएफ) भनिन्छ, जसलाई सामान्य भाषामा ‘टेस्टट्युब बेबी’ पनि भनिन्छ।
महिलाको अण्डामा समस्या भए, अण्डा बन्ने प्रक्रिया अवरुद्ध भए, अन्य महिलाको अण्डा प्रयोग गर्नुपर्ने अवस्था आए वा पुरुषको विर्यमा समस्या देखिएमा आइभिएफ विधि प्रभावकारी विकल्पका रूपमा प्रयोग गरिन्छ।


