
काठमाडौँ – ह्याम्स अस्पतालले मुटुरोगसम्बन्धी सम्पूर्ण जाँच, उपचार र शल्यक्रिया सेवा एउटै छानामुनि उपलब्ध गराउँदै आएको दाबी गरेको छ। अस्पतालका अनुसार मुटु रोगको पहिचानदेखि जटिल शल्यक्रियासम्मका सबै सेवा आधुनिक प्रविधिबाट सञ्चालन भइरहेका छन्।
ह्याम्स अस्पतालको मुटु विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ डा. रोशन रावतका अनुसार अस्पतालमा मुटु उपचारका दुई प्रमुख विधि अपनाइन्छन्। मुटुभित्र कुनै उपकरण नलगेर गरिने उपचार र मुटुभित्र तार वा डिभाइस प्रयोग गरेर गरिने उपचार।
अस्पतालमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपिडी सेवा उपलब्ध छ। नन–इमेजिङ उपचारअन्तर्गत इसिजी, इको, रक्तचाप मापनलगायतका परीक्षण गरिन्छन्। २४ घण्टासम्म मेसिन जडान गरेर मुटुको चालको निगरानी गर्ने सुविधा पनि रहेको डा. रावतले बताए।
त्यस्तै, ट्रेडमिल टेस्ट, मुखमार्फत पाइप छिराएर गरिने भिडियो एक्स–रे (टिईई), गर्भावस्थामै बच्चाको मुटुको जाँच (फिटल इको) लगायतका अत्याधुनिक परीक्षण सेवा उपलब्ध छन्। मुटुमा पहिले नै राखिएका विभिन्न डिभाइसहरूको जाँचसमेत अस्पतालमै गरिन्छ।
मुटुको चाल गडबढीसम्बन्धी उपचारका लागि छाती नचिरी, बिरामीलाई बेहोस नपारी खुट्टाबाट तार छिराएर जाँच तथा उपचार गरिने डा. रावतले जानकारी दिए। थ्री–डी म्यापिङ प्रविधिबाट समेत उपचार उपलब्ध रहेको उनको भनाइ छ।
विभिन्न प्रकारका पेसमेकर जडान गर्ने सुविधा रहेको अस्पतालले आकस्मिक रूपमा मुटुको चाल बिग्रने बिरामीका लागि आईसीडी डिभाइस राखेर उपचार गर्ने सेवा पनि दिँदै आएको छ। यस्तो डिभाइसले हृदयघात भएका करिब ९५ प्रतिशत बिरामीको ज्यान जोगाउन सक्ने डा. रावतको दाबी छ।
मुटुको नशा साँघुरो भए–नभएको थाहा पाउन एन्जियोग्राम जाँच गरिन्छ भने आवश्यक परे एन्जियोप्लास्टीमार्फत ब्लक भएको नशा खोल्ने उपचार पनि गरिन्छ। यसका साथै मुटुको भल्भ साँघुरो भए खोल्ने, भल्भ फेर्ने शल्यक्रिया र छाती नचिरी तारमार्फत मुटुका प्वाल (होल) बन्द गर्ने सेवा पनि ह्याम्स अस्पतालमा उपलब्ध रहेको उनले बताए।


