
काठमाडाैं- दुर्गम हिमाली जिल्ला मनाङमा चार दिनसम्म निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। कात्तिक २८ देखि मंसिर १ गतेसम्म चलेको शिविरमा ६१२ जनाले सेवा लिए। चिसो मौसम सुरु भइसकेपछि स्थानीयको दन्त स्वास्थ्य समस्यालाई ध्यानमा राखी गोरखा वेलफेयर ट्रस्टले मनाङ अस्पताल, चामे नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय मनाङसँग सहकार्यमा क्याम्प सञ्चालन गरेको हो।
काठमाडौँस्थित कान्तिपुर डेन्टल कलेज (केडीसी)ले प्राविधिक सहयोग गरेको शिविरमा डा. बुद्धिमान श्रेष्ठको नेतृत्वमा दन्त विशेषज्ञ, दन्त हाइजिनिस्ट तथा प्राविधिकहरूको टोली खटिएको थियो। शिविरमा ११५ जनाको दाँत सफा, ११५ को भराई, १७८ जनाको दाँत निकालिएको, ९४ जनालाई कृत्रिम दाँत अपूर्ति गरिएको, साथै १ कर्नियोप्लास्टी र १० डीसीएम प्रक्रिया गरिएको थियो।

यसका साथै एक सयभन्दा बढी विद्यार्थीलाई मुख स्वास्थ्य र दन्त हाइजिनबारे विशेष प्रशिक्षण दिइएको थियो। मनाङका चारै स्थानीय तहबाट स्थानीयबासी सेवा लिन आएका थिए।
आयोजक गोरखा वेलफेयर ट्रस्टका अधिकारी, केडीसी टिम, मनाङ अस्पतालका स्वास्थ्यकर्मी तथा स्थानीय स्वयंसेवकको सहयोगमा शिविर सफल भएको जनाइएको छ।



