
काठमाडाैं- हाम्स हस्पिटलकी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सुजाता पन्तले महिलामा बढ्दो स्तन क्यान्सर जोखिमबारे सचेत रहन तथा नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकी छन्। स्तन तथा महिलासम्बन्धी इमेजिङ विशेषज्ञ रहेकी उनले भनिन्, “स्तन क्यान्सर अहिले विश्वभर महिलामा देखिने सबैभन्दा सामान्य क्यान्सर हो। हरेक वर्ष करिब २० लाखभन्दा बढी महिला प्रभावित हुन्छन्, र नेपालमा पनि यसको संक्रमण तीव्र रूपमा बढिरहेको छ।”
उनका अनुसार क्यान्सर भन्नाले शरीरका कोष अनियन्त्रित रूपमा बढ्दै जाने अवस्थालाई जनाउँछ। स्तनमा रहेका दूध बनाउने कोष (लोब्युल्स) वा दूध बग्ने नली (मेमरी डक्ट्स) अनियन्त्रित रूपमा बढ्न थाले स्तन क्यान्सरको सुरुवात हुन्छ। प्रारम्भिक चरणमा उपचार नगरेमा यो रगत वा लिंफाटिक प्रणालीमार्फत शरीरका अन्य भागमा फैलिन सक्ने उनले जानकारी दिइन्।
डा. पन्तका अनुसार उमेर, वंशानुगत कारण, हर्मोन असन्तुलन, सन्तान तथा स्तनपानसम्बन्धी कारण, अस्वस्थ जीवनशैली, मोटोपन, धूम्रपान तथा मद्यपान स्तन क्यान्सरका प्रमुख जोखिम कारक हुन्। “४० वर्षभन्दा माथि उमेर समूहमा बढी देखिए पनि पछिल्ला वर्षमा कम उमेरका महिलामा पनि यो रोग तीव्र रूपमा बढ्दै गएको छ। युवामा देखा परेको क्यान्सर सामान्यतया बढी ‘एग्रेसिभ’ हुने र उपचार कठिन हुने सम्भावना रहन्छ,” उनले भनिन्।
स्तन क्यान्सरका लक्षणबारे उनले भनिन्, “स्तनमा नयाँ गाँठो देखिनु वा महसुस हुनु, आकारमा परिवर्तन, छालामा बाक्लोपन वा रातोपन, निप्पल भित्र धसिनु वा रगत निस्किनु, असामान्य दुखाइ, काखेमा गाँठो महसुस हुनु आदि प्रमुख संकेत हुन्।”
डा. पन्तले महिलाहरूलाई महिनामा कम्तीमा एक पटक ब्रेस्ट सेल्फ–एग्जामिनेसन (स्व–परीक्षण) गर्न सुझाव दिइन्। २५ वर्षभन्दा माथिका महिलाले तीन–तीन वर्षमा एक पटक र ४० वर्षभन्दा माथिका महिलाले प्रत्येक वर्ष क्लिनिकल ब्रेस्ट एग्जामिनेसन गराउनुपर्ने उनको सुझाव छ।
स्तन क्यान्सर पहिचानमा प्रयोग हुने इमेजिङ विधिबारे उनले भनिन्, “म्यामोग्राफी सबैभन्दा संवेदनशील परीक्षण हो। यसले स्तनभित्र रहेका गाँठो वा अन्य असामान्य संरचना पत्ता लगाउन मद्दत गर्छ।” साथै, अल्ट्रासाउन्ड र ब्रेस्ट एमआरआईले पनि विस्तृत जानकारी दिने उनले बताइन्। आवश्यक परेमा एफएनएसी वा बायोप्सी गरेर क्यान्सर सेलको पुष्टि गरिन्छ।
स्वस्थ जीवनशैली अपनाउनु नै स्तन क्यान्सरबाट जोगिने प्रभावकारी उपाय भएको डा. पन्तको भनाइ छ। उनले सन्तुलित आहार, नियमित व्यायाम, स्तनपान, धूम्रपान तथा मद्यपानबाट टाढा रहने सुझाव दिइन्।
उनले थपिन्, “समयमै ब्रेस्ट क्यान्सर पत्ता लागेमा ९० प्रतिशतसम्म महिलाले पूर्ण निको हुन सक्छन्। सुरुमा उपचार गर्दा स्तन जोगाउन सकिन्छ, उपचार सस्तो र प्रभावकारी हुन्छ, र बिरामी तथा परिवार दुवैलाई मानसिक तथा आर्थिक रूपमा सहज हुन्छ।”
अन्त्यमा उनले सबै महिलालाई सचेत रहन आग्रह गर्दै भनिन्, “अर्ली डिटेक्सन सेभ्स लाइफ — समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिने रोग हो।”


