
राजविराज- गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको नवजात शिशु सघन कक्ष (एनआइसीयू) मा आइतबार साँझ भएको सर्टसर्किटका कारण एक नवजात शिशु घाइते भएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको छ। सर्टसर्किटका कारण विद्युतीय बल्ब झर्दा आगोको छिटा परेपछि रुपनी गाउँपालिकाको हर्दियाकी रेखा यादवका शिशु घाइते भएका हुन्। घाइते शिशुलाई तुरुन्तै धरानमा थप उपचारका लागि पठाइएको अस्पताल स्रोतले जनाएको छ।
घटनापछि आक्रोशित परिवारजन तथा जेन–जी समूहका युवाहरु अस्पताल परिसरमा उत्रिँदै विरोध प्रदर्शनमा जुटेका छन्। विरोधकै क्रममा प्रदर्शनकारीले अस्पताल प्रशासनमा धकेलमुक्की र हातपात गरेका छन्। उनीहरू आकस्मिक कक्षसम्म प्रवेश गर्दै कार्यरत चिकित्सकमाथि समेत आक्रमणमा उत्रिएको अस्पतालले बताएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. दिलिप साहमाथि समेत हातपात भएको छ। सर्टसर्किट भएको जानकारी पाएपछि घटनास्थल अनुगमन गर्न पुगेका बेला एक्कासि भीड उत्रिएर आफूलाई कुटपिट गरेको डा. साहले बताएका छन्।
यस घटनापछि अस्पतालको वातावरण तनावपूर्ण बनेको छ। हातपातमा संलग्नलाई तत्काल पक्राउ नगरिए अस्पतालका चिकित्सकहरूले आकस्मिक सेवा (इमर्जेन्सी) समेत बन्द गरी धर्ना बस्नुपर्ने चेतावनी दिएका छन्।
उता, नवजात शिशुका परिवारजन र जेन–जी समूहका युवाहरू अस्पतालको बेवास्ताविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाहीको माग गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले घटनास्थलमा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास जारी रहेको बताएका छन्। स्थानीय प्रशासनले दुवै पक्षबीच समन्वय गर्दै तनाव थप नबढाउन पहल गरिरहेको जनाएको छ।


