काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री डा. सुधा शर्मा गौतमको नेतृत्वमा पहिलो पटक सिनियर म्यानेजमेन्ट टिम (एसएमटी) बैठक मंगलबार सम्पन्न भएको छ। मन्त्रालयमा बसेको बैठकले स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र कार्यगत सुधारका लागि तीन बुँदे महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले मन्त्रालय तथा मातहतका विभाग, केन्द्र र महाशाखाहरूलाई परिवर्तित आवश्यकता र जनचाहनाअनुसार स्वास्थ्य प्रणाली सुधारका कार्यक्रम तयार गर्न निर्देशन दिएको छ। सोअनुसार ३० दिनभित्र सम्पन्न गर्न सकिने अल्पकालीन, ६० दिनभित्र शुरू हुने मध्यकालीन, र दीर्घकालमा प्रभाव पार्ने योजनाहरु सहितको सूची मंसिर १२ गतेभित्र मन्त्रालयमा पेश गर्न र नीति, योजना तथा अनुगमन महाशाखाले मंसिर १३ गते एकीकृत प्रतिवेदन प्रस्तुत गर्नेछ।
यस्तै, सार्वजनिक खरिद र औषधी दर्ता प्रक्रिया अत्यन्त पारदर्शी बनाउन सम्बन्धित निकायलाई पूर्ण जिम्मेवारीसाथ कार्यान्वयन गर्न निर्देशन दिइएको छ। साथै मातहत निकायबाट हुने सेवाका गुनासाहरूको तात्कालिक सुनुवाइ र समाधान गर्न पनि बैठकले जोड दिएको छ।

त्यसैगरी, पछिल्ला आन्दोलन र स्वास्थ्य सेवासम्बन्धी संवेदनशील विषयमा संघीय, प्रादेशिक र स्थानीय तहसँग समन्वय गर्न मन्त्रालयले सानो टोली गठन गरी सातै प्रदेशमा खटाउने निर्णय गरेको छ। उक्त टोलीले विशेषगरी निम्न विषयमा छलफल र सहजीकरण गर्नेछ:
- नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीका तलब–सुविधासम्बन्धी विरोध
- जेन–जी आन्दोलनमा घाइतेहरूको वर्गीकरण तथा उपचार
- जेन–जी क्लिनिकहरूको सञ्चालन स्थिति
- एलडब्ल्यूबीसी तयारीको अवस्था
- मनोसामाजिक परामर्श सेवाको विस्तार एवं प्रभावकारिता
मन्त्रालयले ती निर्णयहरू कार्यान्वयनमा ल्याएर स्वास्थ्य सेवा व्यवस्थापनमा देखिएका चुनौतीलाई त्वरित सुधार गर्ने प्रतिबद्धता जनाएको छ।







