काठमाडाैं- अनुभवी स्वास्थ्य प्रशासक तथा जनस्वास्थ्य विज्ञ डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने सम्भावना बलियो भएको छ। प्रधानमन्त्री शुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि गरेका छलफलमा उनको नाम उच्च प्राथमिकतासहित अघि बढाइएको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार डा. शर्मा, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तासहित चार मन्त्रीको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको छ। उनीहरूलाई आजै दिउँसो २:३० बजे शपथ दिलाउने तयारी गरिएको छ।
सिफारिसअनुसार शर्मा स्वास्थ्य तथा जनसंख्या, सुनार श्रम तथा रोजगार, गुप्ता युवा तथा खेलकुद र श्रेष्ठ भूमिसुधार मन्त्रालयका लागि प्रस्तावित छन्।

डा. शर्मा नेपाल चिकित्सक सङ्घको पहिलो महिला अध्यक्ष, पूर्व स्वास्थ्य सचिव, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, जनस्वास्थ्य विज्ञ तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित नीति–सल्लाहकारको रूपमा चिनिन्छिन्।

उनी २०३९ सालमा जिल्ला अस्पतालबाट सरकारी सेवामा प्रवेश गरेर सचिव पदसम्म पुगेकी हुन्। २०६२/०६३ को जनआन्दोलनका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नेतृत्व गर्दै घाइतेको उपचारमा अग्रसर भएकी थिइन्।
उनको नेतृत्वमा सेफ मदरहुड, नवजात स्वास्थ्य, राष्ट्रिय पोषण रणनीति, हेल्थ सेक्टर स्ट्राटेजिक प्लानजस्ता स्वास्थ्य नीतिमा दीर्घकालीन सुधार गरिएको छ। युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेकी उनी थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मानले पुरस्कृत भइसकेकी छन्।







