
एजेन्सी- बेलायतका वैज्ञानिकहरूले पहिलो पटक डिप्रेसनविरुद्ध प्रयोग हुने विभिन्न औषधिहरूलाई तिनका साइड इफेक्टका आधारमा वर्गीकृत गरेका छन्। ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित अध्ययनले ३० प्रकारका एन्टिडिप्रेसेन्ट औषधिहरूका १५१ अनुसन्धान विश्लेषण गर्दा ५८ हजारभन्दा बढी बिरामीमा उल्लेखनीय भिन्नता देखिएको बताएको छ।
किङ्ग्स कलेज लन्डन र अक्सफर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले औषधि सेवनका पहिलो आठ हप्तामा देखिने स्वास्थ्य प्रभावहरूको अध्ययन गरेका थिए। परिणामले केही औषधिले तौल घटाउने, केहीले बढाउने र कतिले मुटु तथा रक्तचापमा असर पार्ने देखिएको छ। उदाहरणका रूपमा, एगोमेलाटिनले औसत २.४ किलोग्राम तौल घटाएको, जबकि म्याप्रोटिलिनले करिब २ किलोग्राम तौल बढाएको पाइयो। फ्लुभोक्सामाइनले मुटुको धड्कन सुस्त पार्ने र नोर्ट्रिप्टाइलीनले तीव्र पार्ने प्रभाव देखियो।
अनुसन्धानकर्ताहरूका अनुसार एउटै रोगका लागि पनि बिरामीको अवस्था र स्वास्थ्य प्राथमिकताका आधारमा फरक औषधि छनोट गर्नुपर्छ। डा. टोबी पिलिंगरका शब्दमा, “यो अध्ययनले त्रास होइन, बरु डाक्टर र बिरामीबीच संयुक्त रूपमा औषधि छनोट गर्न सहजीकरण ल्याउनेछ।”
सामान्यतया प्रयोग हुने सिटालोप्राम, सेर्ट्रालीन र फ्लुओक्सेटिनजस्ता औषधिहरूमा तुलनात्मक रूपमा कम साइड इफेक्ट देखिएका छन्। अध्ययनले दीर्घकालीन प्रयोगले हृदयाघात वा स्ट्रोकको जोखिम बढ्न सक्ने चेतावनी पनि दिएको छ।
बेलायतमा करिब ८० लाख मानिस डिप्रेसनको औषधि सेवन गर्छन्। विशेषज्ञहरूका अनुसार भविष्यमा बिरामीको व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार औषधि छनोट गर्न अनलाइन उपकरण विकास गरिँदैछ। -बीबीसी


