डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लाका बिरामीका लागि मुख्य स्वास्थ्य केन्द्र मानिने डडेल्धुरा अस्पताल लामो समयदेखि चिकित्सकको अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचित हुँदै आएको छ। दरबन्दीअनुसार जनशक्ति नपुगेका कारण अस्पतालले प्रभावकारी सेवा दिन नसकेको सेवाग्राहीको गुनासो छ।
संघीय सरकार मातहत संचालित यो अस्पतालमा दैनिक करिब ३०० बिरामी ओपीडीमा उपचारका लागि पुग्छन्। तर विशेषज्ञ चिकित्सक अभावका कारण सामान्य उपचारका केससमेत धनगढी वा अन्य शहरस्थित अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
यस अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि हाल केवल १ जना मात्र कार्यरत छन्। मेडिकल अधिकृत तहका चिकित्सकको संख्या पनि पर्याप्त नभएकाले सेवामा थप समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालका अनुसार बालरोग, छाला तथा यौनरोग, नाक–कान–घाँटी लगायतका महत्वपूर्ण विभागमा विशेषज्ञ नहुँदा सेवाग्राहीले गुणस्तरीय उपचार पाउन सकेका छैनन्। “स्थानिय स्तरमै समाधान हुनसक्ने धेरै बिरामी रेफर गर्नुपर्ने बाध्यता छ,” उनले भने।
बिरामीका परिवारले रेफरल अस्पतालमा बुनियादी उपचार नपाउनु दुःखद रहेको प्रतिक्रिया दिएका छन्। अमरगढी नगरपालिका–१० का रामबहादुर सार्कीका भनाइमा, “वृद्ध बुबाको चोटपटक लिएर ल्याउँदा यहाँ उपचार नहुने भन्दै धनगढी जान सुझाइयो। यहाँ समस्या नै धेरै रहेछ।”

उता, अस्पतालमा प्रयोग हुँदै आएको पुरानो एक्स–रे मेसिन पटक–पटक बिग्रँदा सेवा अवरुद्ध हुने गरेको छ। मर्मतका लागि स्थानीय दक्ष प्राविधिक नहुँदा धनगढी वा काठमाडौंबाट बोलाउनुपर्ने भएकाले सेवामा ढिलाइ हुने गरेको डा. खनाल बताउँछन्। अस्पतालले नयाँ एक्स–रे मेसिन खरिद प्रक्रिया अघि बढाए पनि सञ्चालनमा आउन अझै समय लाग्नेछ।
यता, लामो समयदेखि निष्क्रिय रहेको सिटी–स्क्यान सेवा अहिले रेडियोलोजिस्ट चिकित्सक उपलब्ध भएपछि सुचारु भएको छ। अघिल्लो वर्षसम्म रिपोर्टका लागि चितवन पठाउनुपर्ने बाध्यता रहेकाले उपचार ढिलाइ हुनेगरेको थियो। तर प्राविधिक समस्या देखिंदा कहिलेकाहीँ सेवा रोकिँदै आएको छ।
अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले, अस्पतालप्रतिको आलोचना मात्रै नभई उपलब्ध सेवा बुझ्नुपर्ने बताउँदै, “चुनौती ठूलो छ, तर सुधारका प्रयास भइरहेको छ,” भने।
डडेल्धुरा अस्पतालमा स्थायी दरबन्दी १०९ जना, अस्थायी ३१३ जना र विकास समितिबाट ४५ जना कर्मचारी रहेका छन्। तर सरकारी करारतर्फ १३३ दरबन्दीमध्ये ४४ जना मात्र कार्यरत छन् भने २१ जना कर्मचारी अन्यत्र काजमा रहेका छन्।
सुदूरपश्चिमका डोटी, बाजुरा, बैतडी, दार्चुला, अछाम र बझाङबाट बिरामी उपचारका लागि आउने हुँदा जनशक्ति अभावले अझै दबाब बढाएको छ। अस्पताल प्रशासनले सेवाग्राहीका गुनासोलाई सुधारको अवसरका रूपमा लिएर संसाधन र जनशक्ति व्यवस्थापन जति सकिन्छ त्यति छिटो गर्नुपर्ने जनाएको छ।








