काठमाडौं- नर्सहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न गठन गरिएको १४ सदस्यीय समितिको बैठकमा असहज परिस्थिति सिर्जना भएपछि एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की बैठकबाट बाहिरिएका छन्।

बैठकका क्रममा सुरक्षा खतरा बढेको भन्दै डा. कार्की बैठकबाट निस्किएका हुन्। उनले भने, “बैठक राम्रै सुरु भएको थियो। हामीलाई नर्सहरूको मागबाट कुनै आपत्ति छैन। माग पूरा हुनुपर्छ। तर जे कुरा पनि कार्यविधि बनाएर अगाडि बढ्नुपर्छ। यसले दिगोपन ल्याउँछ। हामी तयार छौं, सहमत छौं, तर हालको आर्थिक अवस्थाका कारण केही समस्या छ। त्यसका लागि राज्यसँग छलफल गर्नुपर्छ भनेर भनेका थियौं। तर उतापट्टीबाट कुरा घुमाइयाे भनियो, अनि हामीले राज्यसँग कुरा राख्नुपर्यो भनेर प्रतिक्रिया जनायौं।”
डा. कार्कीका अनुसार बैठकको पाँचौं तल्लामा मात्र पाँच जना सुरक्षाकर्मीको उपस्थितिमा हुलहुज्जत भएको थियो। “माफिया, चोर भनेर आरोप लाग्ने वातावरण बन्यो। मन्त्रालय जलेको उदाहरण पनि रहेका कारण सुरक्षा खतरा बढेको महसुस गरेर बैठकबाट बाहिरिएका हौं,” उनले थपे।

यसअघि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा स्वास्थ्य मन्त्रालयको गुनासो सुनुवाइ एकाइ प्रमुख डा. अनुप बाँस्तोला, चिकित्सा शिक्षा आयोगका निर्देशक, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख, गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधि, नेपाल नर्सिङ परिषद्, नेपाल नर्सिङ संघ, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन, अफिन र आन्दोलनरत नर्सका प्रतिनिधि सदस्य रहेका छन्।
समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन पेश गर्ने छ। नर्सहरूले सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपैयाँ र सेवा सुविधा पाउनुपर्ने माग राखेका छन्।







