काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालत काठमाडौंमा १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो माग दावीसहित आरोपपत्र दायर गरेको हो। उनीहरूलाई स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोप लगाइएको छ।
डा. मिश्राले जेन-जी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो। त्यतिबेला उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिवको पदबाट राजीनामा दिएकी थिइन्। तर पछि उनीमाथि भ्रष्टाचार अनुसन्धान चलिरहेको खुलेपछि उनकी सम्भावित मन्त्री नियुक्ति रोकिएको थियो।

स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि मिश्रासहित १४ जनाले म्यामोग्राफी मेसिन खरिदमा करिब १४ करोड रुपैयाँ बराबरको अनियमितता गरेको प्रमाण भेटिएको आयोगको दाबी छ।
आयोगका अनुसार, लागत अनुमान तयार पार्ने चरणदेखि नै ठेकेदार कम्पनीसँग मिलेमतो गरिएको थियो। सम्झौतामा उल्लेखित सम्पूर्ण सामग्री प्राप्त नभएको अवस्थामै बदनियतपूर्वक सम्पूर्ण सामग्री आएको भनी गलत रिपोर्ट तयार पारिएको, झुटा बिल तथा भुक्तानी कागजात बनाई रकम निकासा गरिएको अख्तियारको ठहर छ।








