काठमाडौं- नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले अक्टोबर महिनाको ‘ब्रेस्ट क्यान्सर अवेयरनेस मन्थ’ को अवसरमा ५४औं क्यान्सर सर्भाइभर मिट सम्पन्न गरेको छ। शनिबार बिहान अस्पतालको छैटौँ तलाको सम्मेलन हलमा आयोजित कार्यक्रममा क्यान्सर जितेका व्यक्ति, चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रह्यो।

कार्यक्रममा अस्पतालका सल्लाहकार डा. घिसुपनिखा प्रसिको, अध्यक्ष सुदिप श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर बृजेशराज घिमिरे, डा. तपेन्द्र अमात्य र सिइओ कपिल गौतमलगायतको विशेष उपस्थिति रहेको थियो।
यो सर्भाइभर मिटमा “वंशाणुगत स्तन क्यान्सर” शीर्षकमा प्यानल डिस्कसन पनि गरिएको थियो। कार्यक्रममा वक्ताहरूले वंशानुगत रूपमा सर्ने ब्रेस्ट क्यान्सरबारे जनचेतना, प्रारम्भिक पहिचान, र जेनेटिक परीक्षणको महत्त्वबारे चर्चा गरे।

कार्यक्रममा बाँच्न सफल क्यान्सर सर्भाइभरहरूले आफ्नो संघर्ष, आत्मबल र पुनःजीवनका प्रेरणादायी अनुभवहरू पनि बाँडे। उनीहरूको कथाले उपस्थित सहभागीहरूमा सकारात्मक ऊर्जा र ब्रेस्ट स्वास्थ्यप्रति सचेत बन्ने सन्देश प्रवाह गरेको थियो।
नेपाल क्यान्सर अस्पतालले यस्तो कार्यक्रमले समाजमा क्यान्सरबारे सही जानकारी र समयमै उपचारका लागि उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। अस्पतालले आगामी दिनमा पनि ब्रेस्ट क्यान्सरसहित विभिन्न क्यान्सरबारे जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।







