विराटनगर – विराट मेडिकल कलेज शिक्षण अस्पताल र आन्दोलनरत स्वास्थ्यकर्मीहरूबीच चार बुँदे सहमति भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र अस्पतालका प्रशासकीय अधिकृत रामप्रसाद लुइँटेलको रोहबरमा भएको छलफलपछि सहमति गर्दै आन्दोलन स्थगित गर्ने निर्णय गरिएको हो।
आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल प्रशासनबीच भएको छलफलपछि निम्न सहमति बुँदाहरूमा समझदारी बनेको छः

स्वास्थ्य मन्त्रालयको पत्रानुसार पारिश्रमिक तथा सुविधा कार्यान्वयनका लागि पहल गर्ने सहमति भएको छ। यस सम्बन्धमा अस्पताल प्रशासनले सम्बन्धित निकायहरूसँग छलफल गरी आवश्यक व्यवस्था गर्ने सकारात्मक प्रतिबद्धता जनाएको छ।

त्यस्तै, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीका गुनासोहरूलाई क्रमशः सम्बोधन गर्दै लैजाने र आन्दोलनका कारण प्रशासनले कुनै प्रकारको बदला वा पूर्वाग्रह नराख्ने सहमति पनि भएको छ।
सहमति अनुसार, आन्दोलनरत स्वास्थ्यकर्मीहरू आजैदेखि नियमित सेवामा फर्किने र अस्पतालको सम्पूर्ण सेवा पुनः पूर्ण रूपमा सञ्चालन हुने जनाइएको छ।
केही दिनदेखि आंशिक रूपमा प्रभावित अस्पताल सेवा यो सहमतिसँगै पुनः सुचारु हुने भएको छ। अस्पताल प्रशासनले सहकार्य र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।








