कैलाली- सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र धनगढीमा निजी अस्पतालहरूले श्रम शोषण र न्यून पारिश्रमिक दिएको आरोपमा स्वास्थ्यकर्मीहरूले दोस्रो दिन पनि धर्ना र आन्दोलन जारी राखेका छन्।
उनीहरूले अस्पताल प्रशासनले कानूनी प्रावधान नमान्दै आफूहरूलाई न्यून तलबमा अत्यधिक काम गराइरहेको गुनासो गरेका छन्। स्टाफ नर्स आस्मा नेगीका अनुसार, उनीहरूको मुख्य मागमा करारमा मात्रै काममा नराख्ने, सक्कल शैक्षिक प्रमाणपत्र जबर्जस्ती राख्न नदिने, तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता दिने र पारिश्रमिक बैंकमार्फत मात्र उपलब्ध गराउने व्यवस्था लागू गर्नुपर्ने रहेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनको चेतावनी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंसिर २७ गते निर्णय गर्दै निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सरकारी दरअनुसार पारिश्रमिक दिन निर्देशन दिएको थियो। त्यसअनुसार न्यूनतम तलब ३४ हजार ७३० रुपैयाँ निर्धारण गरिएको छ। तर, धनगढी र अत्तरियास्थित नवजीवन, माया मेट्रो, सीपी, निसर्ग, नोभा, स्वस्तिक, पद्मा, कैलाली र सञ्जीवनीजस्ता निजी अस्पतालहरूले नर्स र प्यारामेडिक्सलाई अहिले पनि १४ देखि २० हजार रुपैयाँ मात्र तलब दिइरहेको स्वास्थ्यकर्मीहरूको आरोप छ।

आन्दोलनमा सहभागी स्वास्थ्यकर्मीहरूले आवाज उठाउनेहरूलाई अस्पतालहरूले धम्की दिने, बर्खास्त गर्ने र प्रमाणपत्र नफिर्ता गर्ने जस्ता व्यवहार गर्दै आएको आरोप लगाएका छन्। हालै धनगढीको एक निजी अस्पतालले विरोधमा सहभागी भएकी एक नर्सलाई बर्खास्त गर्दै उनलाई भविष्यमा ‘अयोग्य’ घोषित गर्ने धम्की दिएको पनि उनीहरूको दाबी छ।
नेपाल स्वास्थ्य सेवा नियमावली अनुसार, हप्तामा ४२ घण्टाभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त सेवा वा बिदा दिनुपर्ने प्रावधान छ। तर, अधिकांश निजी अस्पतालले सो व्यवस्था कार्यान्वयन नगरेको स्वास्थ्यकर्मीहरूको गुनासो छ।








