

काठमाडौं- देशकै पहिलो स्नायु (न्यूरो) स्वास्थ्य सेवा प्रदायक संस्था उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्सेज (न्यूरो अस्पताल, बाँसबारी) ले अत्याधुनिक प्रविधि र उपकरणमार्फत सेवा विस्तार गरेको छ।
स्व. प्रा. डा. उपेन्द्र देवकोटाको परिकल्पनामा १९ वर्षअघि स्थापना गरिएको यो अस्पतालले नेपालमा स्नायु सम्बन्धी उपचारमा नयाँ आयाम थप्दै अन्तर्राष्ट्रिय स्तरको सेवासुविधा प्रदान गर्दै आएको छ। मस्तिष्क, मेरुदण्ड, स्नायु र मांशपेशीजन्य रोगहरूको उपचारमा समर्पित यस संस्थाले हालै विश्वस्तरीय पाँच नयाँ प्रविधि सञ्चालनमा ल्याएको छ।
अस्पतालका अनुसार, यी उपकरणले शल्यक्रियालाई थप सुरक्षित, सहज र जोखिममुक्त बनाउने उद्देश्य राखिएको छ।
सबैभन्दा पहिले, स्टेल्थ-८ न्युरो नेभिगेशन सिस्टम ले मस्तिष्क र मेरुदण्डको भित्री संरचनाको हुबहु चित्रण गरेर अपरेशनको क्रममा रोग लागेको भाग मात्र निशाना बनाउन सहयोग पुर्याउँछ। यसले स्नायु शल्यक्रियामा त्रुटि घटाएर रोगीको सुरक्षामा उल्लेखनीय सुधार ल्याउने अस्पतालको दाबी छ।
त्यस्तै, रोबोटिक माइक्रोस्कोप अस्पतालमा थपिएको तेस्रो माइक्रोस्कोप हो। यो उपकरणले थ्रिडी इमेजमार्फत जटिल र सूक्ष्म शल्यक्रियालाई सजिलो बनाउँछ। एकै समयमा धेरै बिरामीको अपरेशन गर्न सकिने भएकाले प्रतीक्षा समय घट्ने बताइएको छ।

ओ-आर्म प्रविधि विशेष गरी मेरुदण्डको अपरेशनमा प्रयोग हुन्छ, जसले सहि स्थान र कोण पहिचान गर्न सजिलो बनाउँछ। यसले डिप ब्रेन स्टिमुलेशन र चालसम्बन्धी रोगको उपचारमा पनि सहयोग पुर्याउँछ।
त्यसैगरी, इन्ट्रा अपरेटिभ न्युरो-मनिटरिङले अपरेशनको क्रममा बिरामीको स्नायु प्रणालीका तरंगहरू मापन गरेर जोखिम घटाउने काम गर्छ। यस प्रविधिले बेहोस बिरामीको स्नायु र मस्तिष्कको कार्य निरन्तर निगरानी गर्न सकिन्छ।
अर्को, नेपालकै पहिलो Natus 128-channel EEG मेसिनले मस्तिष्कको कुन भागबाट एपिलेप्सी (छारे रोग) उत्पन्न भएको हो भन्ने पत्ता लगाएर सर्जरी तयारीमा सहयोग गर्छ।
त्यस्तै, INOMED RF Machine ले रेडियो फ्रिक्वेन्सी प्रविधिबाट शल्यक्रिया नगरी नै पार्किन्सन, मूवमेन्ट डिसअर्डर र ट्राइजेमिनल न्युराल्जियाजस्ता रोगको उपचार गर्न सहयोग पुर्याउँछ।
अस्पतालले आगामी दिनमा यी प्रविधि र दक्ष जनशक्तिको सहयोगमा न्यूरो स्वास्थ्य सेवाको विशेष शाखा विकास विस्तार गर्ने योजना बनाएको छ।
आर्थिक अभावका बीच पनि बिरामीलाई सेवा नरोकिने प्रतिबद्धता व्यक्त गर्दै अस्पतालले ‘बिरामी नै पहिलो’ नीतिलाई निरन्तरता दिने जनाएको छ।




