काठमाडाैं- भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवाको विस्तार गर्ने भएकाे छ । बुधबार विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसरमा विशेष कार्यक्रम आयोजना गरी भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवाको सशक्त विस्तार गर्ने प्रतिबद्धता जनाउँदै बीसीएच प्यालियटिभ केयर फन्ड स्थापना गर्ने घाेषणा गरेकाे छ । आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्न प्रयोग गरिने जनाइएकाे छ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष डा. उज्ज्वल चालिसेले जीवनको अन्तिम क्षणमा पनि माया, सहानुभूति र सम्मान पाउने अधिकार प्रत्येक व्यक्तिको हुन्छ भन्ने सन्देश दिए। ‘हामी केवल उपचार होइन, मानवताको सेवा गरिरहेका छौं। प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक जिम्मेवारी हो,’ उनले भने ।
उनले नेपालमा पहिलोपटक होस्पिस फ्यासिलिटी स्थापना गर्ने लक्ष्य रहेको बताउँदै यसका लागि सरकारी, गैरसरकारी निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले भक्तपुर क्यान्सर अस्पतालले अहिले नै देशकै एक सशक्त प्यालियटिभ केयर युनिट सञ्चालन गरिरहेको र यसलाई थप सुदृढ बनाउने योजनामा रहेको जानकारी दिए।

अस्पतालले सर्जरी, रेडियसन, किमोथेरापी, इम्युनोथेरापी, ल्याब सेवा, सिटी स्क्यान लगायतका उपचारका सुविधा उपलब्ध गराइरहेको र यसै वर्षदेखि पीईटी स्क्यान सेवा सुरु गर्न लागेको पनि उनले जानकारी दिए।
मिस नेपाल २०२५ सुश्री लुना लुइटेलले भनिन्, ‘प्यालियटिभ केयर केवल चिकित्सकीय सेवा होइन, यो मानवीय मूल्यसँग जोडिएको अभियान हो। हामी सबैले यसलाई सामाजिक दायित्वको रूपमा लिनुपर्छ।’

त्यसैगरी विशिष्ट अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले हालै २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको जानकारी दिँदै उक्त रणनीतिले देशभर प्यालियटिभ सेवा विस्तारमा ठूलो भूमिका खेल्ने बताए।
कार्यक्रममा निर्देशक चालिसेले उक्त रणनीतिको पाँच मुख्य पक्षहरू मानव संशाधन विकास, सेवाको पहुँच विस्तार, संस्थागत सुदृढीकरण, औषधि सुनिश्चितता, र समुदाय संलग्नता प्रस्तुत गर्दै नेपालमा प्यालियटिभ सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक रहेको बताए।
अस्पतालका अनुसार हाल नेपालमा प्यालियटिभ केयरमा विशेष एमडी डिग्री प्राप्त दुई जना मात्र चिकित्सक कार्यरत छन्, र दुवै जना भक्तपुर क्यान्सर अस्पतालमै कार्यरत छन्। हाल अस्पतालले हाेम बेस्ड केयर र टर्मिनल केयर युनिटमार्फत पनि निरन्तर सेवा दिइरहेको छ।
सो अवसरमा उनले लायन्स क्लब अफ बागमती क्यान्सर केयरले १ लाख रुपैयाँ, डीके मेडी सेल्स ५ लाख बराबरको सहयोग, इस्ट वेस्ड कन्सर्नले २ लाख रुपैयाँ र उषा दीक्षितले १ लाख रुपैयाँ काेषमा सहयाेगकाे प्रतिबद्धता जनाएका जानकारी दिए ।
कार्यक्रममा दिवंगत चिकित्सक डा. चाँदनी वैद्य, पूर्व निर्देशक डा. सुदीप श्रेष्ठ, डा. आरती शाह, र प्रा. डा. विष्णुदत्त पौडेलको योगदानलाई विशेष रूपमा सम्झना गरिएको थियो।







