
ललितपुर, १९ असोज । स्तन क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र (NCHRC) ले विशेष छुट योजना ल्याएको छ। प्रत्येक वर्ष अक्टोबर महिनालाई “स्तन क्यान्सर सचेतना महिना”का रूपमा मनाइने क्रममा, अस्पतालले आफ्ना स्वास्थ्य सेवामा छुट प्रदान गर्ने घोषणा गरेको हो।

अस्पतालका अनुसार यो अभियान अन्तर्गत म्यामोग्राफी र ब्रेस्ट ओपीडी परामर्शमा ५० प्रतिशत तथा स्तनको अल्ट्रासाउण्ड (USG) सेवामा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ।
यो कार्यक्रम अस्पतालको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुरु गरिएको जनाइएको छ।
एनसीएचआरसीका प्रतिनिधिहरूका अनुसार स्तन क्यान्सरको प्रारम्भिक पहिचान र समयमै उपचारले धेरै महिलाको जीवन बचाउन सकिन्छ। उनीहरूले महिलालाई स्वास्थ्यप्रति सचेत रहन, नियमित परीक्षण गराउन र समुदायमा स्तन क्यान्सरबारे सन्देश फैलाउन आग्रह गरेका छन्।
अभियानको नारास्वरूप “It’s all about Pink” अपनाइएको छ।
अस्पतालले सबैलाई यो सचेतना अभियानमा सहभागी हुन आह्वान गर्दै भनिएको छ — “अहिल्यै समयमै जाँच गरौं, सचेत बनौं।”
एनसीएचआरसीले आगामी दिनमा पनि जनस्वास्थ्यका विभिन्न क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।


