
सुर्खेत — वीरेन्द्रनगरका होटलहरूमा यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले गत जेठमा छापा मार्दा एक एचआइभी संक्रमित महिला समेत यौन व्यवसायमा संलग्न रहेको तथ्य खुलेको छ।
बुद्धपथ क्षेत्रका हार्दिग, दंगाली र विकास होटलमा प्रहरीले एकैसाथ छापा मार्दा २५ जना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये एक ३३ वर्षीया महिलाले आफू एचआइभी संक्रमित भएको प्रहरी समक्ष स्वीकार गरेकी छिन्। उनले श्रीमानबाट संक्रमण भएको र हाल औषधि सेवन गरिरहेकी बताएकी छन्।
प्रहरीले ती महिलाले संक्रमण लुकाएर यौन व्यवसाय जारी राखेको भन्दै संक्रामक रोग फैलाउने, सामाजिक सदाचारविपरीतको कार्य तथा बेश्यावृत्तिसम्बन्धी मुद्दा दर्ता गरेको छ। उनका श्रीमानहरू दुबैको मृत्यु भइसकेको र त्यसपछि आर्थिक कारणले यौन व्यवसायमा लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार ती महिला आफैं यौन व्यवसायमा सक्रिय मात्रै नभई अन्य महिलालाई पनि त्यसमा लगाउने काम गरिरहेकी थिइन्।
सामाजिक मर्यादाविपरीतको क्रियाकलापमा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित २९ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये अधिकांश महिला रोजगारी वा आर्थिक संकटका कारण यौन व्यवसायमा लागेको बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुद्धपथ र बसपार्क क्षेत्रका होटलमा यौन व्यवसायविरुद्ध निगरानी कडा बनाएको जनाएको छ। यस्ता सामाजिक विकृति नियन्त्रणका लागि प्रहरीले स्थानीयको सहयोग पनि माग गरेको छ।



