
काठमाडौं- चिकित्सा शिक्षासँगै गुणस्तरीय उपचार सेवामा स्थापित कान्तिपुर जनरल एण्ड डेन्टल अस्पताल बहुपक्षीय सेवासहित बिरामीहरूको भरपर्दो गन्तव्य बन्दै गएको छ। २००७ सालमा डेन्टल कलेजका रूपमा स्थापना भएको संस्थाले २०१३ देखि १०० शय्याको जनरल अस्पतालमार्फत सर्वसाधारणलाई सेवा दिँदै आएको छ।
अस्पतालमा दन्त उपचारदेखि लिएर पेटसम्बन्धी, छालासम्बन्धी, मेडिसिन, बाल रोग, हाडजोर्नी शल्यक्रिया, नाक–कान–घाँटी, स्त्रीरोग, आँखाको उपचारसम्मका सम्पूर्ण सेवा उपलब्ध रहेकाे निर्देशक डा. केदार प्रसाद सेन्चुरीले जानकारी दिए।

आपतकालीन सेवा पनि गुणस्तरीय रहेको बताउँदै निर्देशक सेन्चुरी भन्छन्, “वार्डमा भर्ना, शल्यक्रिया, आईसीयू, शल्यक्रिया कक्ष सबै सुसज्जित छन्। सबै ठाउँबाट बिरामी आए पनि सहज व्यवस्थापन गर्नसक्ने क्षमता हामीसँग छ।”
बहु–विशेष सेवा, सबै उपकरण उपलब्ध
अस्पतालमा बहु–विशेषज्ञ सेवाहरू उपलब्ध छन्। अधिकांश आवश्यक उपकरण र औषधि पर्याप्त मात्रामा रहे पनि केही प्रविधि थप गर्नुपर्ने आवश्यकता रहेको डा. सेन्चुरी बताउँछन्। “आईसीयू र शल्यकक्षका लागि आवश्यक सम्पूर्ण उपकरण हामीसँग छन्,” उनले भने।
गरिब, विपन्नका लागि सहुलियत
अस्पतालले दुर्गम क्षेत्रबाट आएका र विपन्न वर्गका बिरामीहरूलाई विशेष सहुलियत दिँदै आएको छ। उनीहरूलाई १० देखि २० प्रतिशतसम्म छुट दिइँदै आएको डा. सेन्चुरीले जानकारी दिए।
सरसफाइ र व्यवस्थापनमा समेत उच्च मापदण्ड
खानेपानी, सरसफाइ र फोहोरमैला व्यवस्थापनमा पनि अस्पतालले कुनै सम्झौता नगरेको डा। सेन्चुरी बताउँछन्। “स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं, साथै बाह्य अनुगमनकर्तासँग सल्लाह गरेर अझ व्यवस्थापन सुधार्ने अभ्यास गर्दै आएका छौं,” उनले भने।
भविष्यमा थप सेवा विस्तारको योजना
डेन्टल कलेज र जनरल अस्पताल सञ्चालनमै रहेकाले यहाँ सबै किसिमका बिरामीहरूको उपचार सम्भव भएको सेन्चुरीको दाबी छ। “हामी स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउँदै छौं, गरिब निमुखाका लागि विशेष उपचार योजना हाम्रो प्राथमिकता हो,” उनले प्रतिबद्धता जनाए।


