
काठमाडाैं- मुख स्वास्थ्य जीवनको महत्त्वपूर्ण पाटो हो। नियमित रूपमा ब्रस गर्ने, फ्लस गर्ने र स्केलिङ गर्ने बानी बसाल्न आवश्यक छ। स-साना लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ, त्यसैले समयमै दन्त चिकित्सकको सल्लाह लिनु बुद्धिमानी हुने डेन्टल सर्जन डा. श्रृंखला ढकालकाे सुझाव छ।
उनका अनुसार, दन्त चिकित्सकहरूसमक्ष सबैभन्दा बढी किरा लागेर वा दुखेर बिरामी आउने गर्छन्। यस्तो अवस्थामा सुरुमा आवश्यक परीक्षण गरिन्छ। यदि परीक्षणबाट दाँतमा किरा लागी नसासम्मै पुगेको देखियो भने रुट क्यानल ट्रीटमेन्ट (आरसीटी) गरिन्छ, जसलाई जराबाट हुने उपचार भनिन्छ।
रुट क्यानल ट्रीटमेन्टको प्रक्रिया
आरसीटीको क्रममा सुरुमा बिरामीको गिजामा एनेस्थेसिया लगाइन्छ जसले गर्दा उपचार हुने भाग शून्य हुन्छ। लोकल एनेस्थेसियाको प्रयोग गर्दा पनि केही सावधानी आवश्यक हुन्छ। प्रेसर बढी भएका, रक्तअल्पता भएका वा एलर्जी भएका बिरामीमा यसको प्रयोग गर्न मिल्दैन। यस्तो अवस्थामा अन्य विकल्पहरू प्रयोग गरिन्छ।

एनेस्थेसिया लगाएपछि प्रभावित भाग सफा गरिन्छ, आकार दिइन्छ र त्यसमा भएका फोहोर तथा मरेका नशा हटाइन्छन्। त्यसपछि थाहा सिमेन्ट प्रयोग गरेर भरिन्छ। अन्त्यमा दाँतलाई मजबुत बनाउन क्राउन राख्न सल्लाह दिइन्छ, जसले दाँतलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न मद्दत गर्छ।
गिजासम्बन्धी समस्या
डा. श्रृंखला ढकालका अनुसार गिजा सुन्निने, रगत आउने जस्ता समस्या लिएर पनि धेरै बिरामी आउँछन्। प्रायः यस्तो समस्या खानेकुरा अड्किएर हुने गर्छ। यसबाट बच्न नियमित स्केलिङ आवश्यक हुन्छ। डा. ढकालका अनुसार, गिजासम्बन्धी दुई मुख्य रोगहरू जिन्जिभाइटिस र पेरिओडन्टाइटिस हुन्। जिन्जिभाइटिसमा गिजा रातो हुने, सुन्निने र ब्रस गर्दा रगत आउने गर्छ।
यदि समयमै हेरचाह गरिएन भने यो अवस्था पेरिओडन्टाइटिस मा परिणत हुन्छ, जसमा दाँत हल्लिने, गिजाबाट रगत आउने र दाँतहरू सर्ने जस्ता गम्भीर लक्षण देखिन्छन्।
यसको उपचारमा डिप स्केलिङ, रुट प्लानिङ र कहिलेकाहीं शल्यक्रिया समेत गर्नुपर्ने अवस्था आउन सक्छ।
बुद्धि बांगरासम्बन्धी समस्या
बुद्धि दाँतले गर्दा पनि समस्या हुने गर्दछ। यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ। यस्ता शल्यक्रिया अनुभवी चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ।
मुख क्यान्सरको सम्भावना
डा. श्रृंखला ढकालका अनुसार धेरै बिरामीहरू सुर्तीजन्य पदार्थ प्रयोगका कारण घाउ बनाएर आउने गर्छन्। उनीहरूमा मुखको क्यान्सर भएको शंका लाग्ने गर्छ। यदि मुखभित्र रातो वा सेतो घाउ, मुख खोल्न नसक्ने, खाना नखान सक्ने र पोल्ने जस्ता लक्षण देखिएमा आवश्यक परीक्षण, शारीरिक परीक्षण, नमुना परीक्षण, सीटी स्क्यान वा एमआरआइमार्फत रोगको निदान गरिले उनले बताइन्।
अर्थोडोन्टिक उपचार
बांगो दाँत मिलाउने उपचारलाई अर्थोडोन्टिक ट्रीटमेन्ट भनिन्छ। पछिल्लो समयमा धेरैले यसमा चासो देखाएका छन्। डा. ढकालका अनुसार, यो उपचारका लागि १० देखि १४ वर्षको उमेर उपयुक्त हुन्छ। यस उमेरमा गर्दा परिणाम अपेक्षाअनुसार आउँछ। यद्यपि, उमेर नाघिसकेपछि पनि यो उपचार गर्न सकिन्छ, तर नतिजा चाहिँ अलि भिन्न हुन सक्छ।


