
काठमाडाैं- नेपालमा कलेजो (लिभर) प्रत्यारोपण चिकित्सा सेवा सस्तो, सुरक्षित र प्रभावकारी बन्दै गएको छ। प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहका अनुसार, लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो मुलुकमध्ये एक हो, जहाँ बिरामीले विदेशी मुलुकको तुलनामा झन्डै २० गुणासम्म कम खर्चमा सेवा पाउँछन्।
उनले हालै अमेरिकामा दुई महिनासम्म लिभर ट्रान्सप्लान्टसम्बन्धी अस्पतालहरूको अवलोकन गरेका थिए। उनले भने, “अमेरिकामा एउटा लिभर ट्रान्सप्लान्टको लागत बराबरको रकममा नेपालमा २० जना बिरामीको ट्रान्सप्लान्ट गर्न सकिन्छ।” यसमा मुख्य कारण भनेको नेपालमा मेनपावर र सेवा शुल्क सस्तो हुनु हो।
नेपालमा हाल ३०–३५ लाख रुपैयाँ खर्चमा लिभर ट्रान्सप्लान्ट सम्भव छ। यसमा बिरामी र डोनर दुवैको अपरेशन खर्च, अस्पतालमा १५–२० दिनको बसाइ, औषधी र अन्य परीक्षण समावेश हुन्छन्। अन्य देशको तुलनामा यो रकम निकै कम हो।
नेपालमा लिभर ट्रान्सप्लान्ट सन् २०१६ बाट सुरु भएको हो। भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र, टिचिङ अस्पताल र किष्ट अस्पतालमा अहिले नियमितरूपमा सेवा दिइँदै आएको छ। प्रत्यारोपणका लागि जीवित डोनरको अंग प्रयोग गरिन्छ। ऐन अनुसार नजिकको नातेदारबाट मात्रै लिभर लिन सकिने व्यवस्था छ।
डा. सिंहका अनुसार, ट्रान्सप्लान्ट सफलताको दर ९० प्रतिशतभन्दा माथि रहेको छ। “एकपटक लिभर ट्रान्सप्लान्ट गरेपछि बिरामीले ३० देखि ५० वर्षसम्म सामान्य जीवन बाँच्न सक्छ,” उनले भने। कलेजो आफैं पलाउने अंग भएकाले अंग दिने व्यक्तिलाई पनि दीर्घकालीन असर नपर्ने चिकित्सकहरू बताउँछन्।
लिभर रोगको सुरुआतमा सामान्य लक्षण देखिन्न। नियमित चेकअप नगरेसम्म सिरोसिस वा क्यान्सर जस्ता जटिल अवस्था पुग्न सक्छ। सुरुआतमै समस्या थाहा पाउन र ज्यान जोगाउन सस्तो, भरपर्दो र प्रभावकारी विकल्पको रूपमा नेपालमै लिभर ट्रान्सप्लान्ट सम्भव भएको डा. सिंहको निष्कर्ष छ।


