

– डा. तेजसु सिंह मल्ल
नेपाल सरकारका अभिभावक तथा सम्माननीय प्रधानमन्त्रीको अग्रसरतामा भएको सहमति अनुरुप, चिकित्सा शिक्षा आयोगले तथ्यपरक र यथार्थताका आधारमा निर्णय गरेको हो । यो निर्णयले चिकित्सा शिक्षामा देखिँदै आएको विकृति र विसंगतिलाई न्यूनिकरण गर्ने उद्देश्य राख्दछ । तर, निजी मेडिकल कलेजहरूले यो निर्णयलाई नमान्ने प्रयास गर्दै, राज्यको निर्णयलाई चुनौती दिने अस्वाभाविक र अस्वाभवीय व्यवहार देखाएका छन् । नेपाल सरकारले गम्भीर रूपमा मनन गरी उक्त निर्णयको अक्षरसः कार्यान्वयन गर्ने वातावरण तयार गर्न अत्यन्तै ढिला हुँदै गएको विद्यमान अवस्था छ।
राज्यले आवासीय चिकित्सकहरूलाई सरकारी सरहको निर्वाह भत्ता दिने ऐतिहासिक निर्णय गरेर चिकित्सा क्षेत्रलाई थप व्यवस्थित बनाउने दिशामा ठोस कदम चालेको छ । यस्तो बेलामा शैक्षिक संस्थाहरूले “हामीलाई मान्य छैन” भन्ने अडान लिने हैसियत राख्दैनन्, राख्नु हुँदैन । यस्तो व्यवहार आफैँमा हास्यास्पद, लज्जास्पद र शैक्षिक मर्यादाविपरित हो ।
समस्या आउनेक्रममा निरन्तर संवाद र छलफलबाट समाधान खोज्नु परिपक्व र जिम्मेवार संस्थाको चिन्ह हो । तर त्यो पनि नगरी अस्वाभाविक दम्भ, अहंकार र कपटपूर्ण अभिव्यक्तिको सहारा लिने अधिकार कसैलाई पनि छैन। यस्तो हर्कतले आफूलाई प्रतिष्ठित बनाउने नाममा सम्पूर्ण चिकित्सा शिक्षालाई नै बदनाम बनाउने काम गरेको छ ।
नेपाल सरकार र चिकित्सा शिक्षा आयोगको निर्णयलाई कार्यान्वयन गर्न सकिँदैन भन्ने अभिव्यक्तिले आजको दिनमा गम्भीर प्रश्न खडा गरेको छ । यथाशीघ्र उक्त निर्णय लागू गरी निजी मेडिकल कलेजहरूको मनपरी रोक्न सकिएन भने, स्थिति भयावह बन्नेछ । राज्यले समयमै गम्भीरता देखाउँदै निजी मेडिकल कलेजहरूमाथि आवश्यक कारबाही गर्ने बाटो पनि लिन सक्ने कुरा सम्बन्धित पक्षले स्पष्ट बुझ्नु पर्दछ ।
त्यसैले, आवासीय चिकित्सकहरूको आन्दोलनलाई थप मर्यादित र व्यवस्थित बनाउँदै नेतृत्वदायी संघ संस्था र अभिभावकीय भूमिका निर्वाह गर्दै आएको नेपाल चिकित्सक संघले यस विषयलाई अत्यन्तै गम्भीरतापूर्वक लिई ठोस निर्णयमा पु¥याउने दिशामा अघि बढेको छ ।
नेपालको चिकित्सा शिक्षालाई गम्भीर अवस्थाबाट जोगाउँदै एउटा व्यवस्थित, समावेशी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने यो अवसरबाट नेपाल चिकित्सक संघ पछि हट्दैन ।
अहिलेको परिस्थिति भनेको हामी सम्पूर्ण चिकित्सकहरूको लागि एउटा अग्निपरीक्षा हो । यस घडीमा सम्पूर्ण चिकित्सकहरू एकजुट भई भोलि नेपाल चिकित्सक संघले आह्वान गरेको आकस्मिक तथा सदन सेवा बाहेक अन्य सेवा बन्द गरी “चिकित्सक एकता” को स्पष्ट प्रदर्शन गर्नु हामी सबै चिकित्सकहरूको पवित्र दायित्व हो ।
(लेखक मल्ल, नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य तथा नेपाल अप्थाल्मिक सोसाइटीका महासचिव हुन्)