

काठमाडौं- ‘काइफोप्लाष्टि’ भन्नेबित्तिकै धेरैलाई अनौठो लाग्न सक्छ, तर यो प्रविधिले विशेषगरी वृद्धवृद्धाहरूलाई थलिनबाट बचाउँदै आएको छ । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) का वरिष्ठ अर्थोपेडिक्स तथा स्पाइन सर्जन डा. प्रशान्त अधिकारीले अमेरिकाको शिकागोबाट तालिम लिएर फर्किएपछि यो शल्यक्रिया नेपालमा सुरु गरेका हुन् ।
उनका अनुसार काइफोप्लाष्टि भन्नाले मेरुदण्डमा रहेका कुरकुरे हड्डी (भर्टिब्रा) भाच्चिएपछि हुने समस्या समाधान गर्ने प्रविधि हो । उमेरसँगै हड्डीहरू पातलो हुँदै जान्छन् र सामान्य चोटपटक–जस्तै मोटरसाइकलबाट ओर्लिंदा, मसाज गर्दा वा सामान्य हाच्यु गर्दा पनि हड्डी भाचिन सक्छ । यसलाई ‘अष्टियोपोरेटिक फ्याक्चर’ भनिन्छ ।
‘यस्तो अवस्थामा रोगीलाई उठ्न, बस्न, हिँड्नै मुस्किल हुन्छ । धेरै समय सुतिरहनुपर्ने बाध्यताले पिसाब तथा फोक्सोको संक्रमण, खुट्टामा रगत जम्ने जस्ता थप समस्याहरू निम्तिन सक्छन्,’ डा. अधिकारीले भने।
काइफोप्लाष्टि विधिमा भाचिएको हड्डीलाई दुईवटा साना प्वालमार्फत लठ्याइन्छ, अनि त्यही भागमा हड्डीलाई ठूलो बनाउँदै भित्र सिमेन्ट भरिन्छ । यसरी हड्डी बलियो बनाइदिएपछि बिरामीलाई तत्काल राहत मिल्छ ।
‘बिहान शल्यक्रिया गरेपछि बेलुकासम्म बिरामी घर फर्कन सक्ने अवस्थामा हुन्छन्,’ डा. अधिकारी भन्छन्, ‘थोरै जटिल र जाखिमपूर्ण भए पनि यो प्रक्रिया छोटो समयमा सकिन्छ र बिरामीलाई छिटो आराम मिल्छ ।’
ह्याम्स अस्पतालमा यो शल्यक्रिया एक वर्षअघि सुरु गरिएको हो र हालसम्म ५१ जनाको सफल उपचार भइसकेको अस्पतालले जनाएको छ ।
काइफोप्लाष्टि विधि नेपालको सन्दर्भमा नयाँ भए पनि अन्तर्राष्ट्रिय रूपमा निकै प्रभावकारी मानिएको छ, जसले खासगरी वृद्धवृद्धालाई पुनः सक्रिय जीवन फर्कन सहयोग पुर्याएको छ ।