

ललितपुर- ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
हस्पिटलका अध्यक्ष डा. सुदिप श्रेष्ठको अध्यक्षतामा बसेको उक्त साधारण सभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गर्दै आगामी आर्थिक वर्ष ०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
साथै, सभाले आर्थिक वर्ष ०८०/८१ को नाफाबाट शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ ।
उक्त साधारण सभाले कम्पनीको वित्तीय पारदर्शिता र आगामी योजनाका विषयमा समेत छलफल गरेको थियो । स्वास्थ्य सेवाको गुणस्तरमा अझ सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै अस्पतालले आगामी दिनमा थप आधुनिक सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।