

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ स्थित कोटहीमाई मिसुजु आधारभूत विद्यालयमा तीन दिनसम्म बहु विशेषज्ञ बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त शिविरको आयोजना रोटरी क्लव अफ काठमाडौँ नर्थ आरआई डिस्ट्रिक ३२९२ द्वारा गरिएको हो, जसमा कान्तिपुर डेन्टल कलेज (केडीसी) टिचिङ हस्पिटल सहआयोजकको रूपमा सहभागी भएको थियो ।

१४ देखि १६ चैतसम्म चलेको यो शिविरमा कुल १,३९५ जनाको स्वास्थ्य परीक्षण र उपचार गरिएको छ। शिविरमा सहभागि संस्थाहरूमा रोटरी क्लव अफ म्याथुज (आरआई डिस्ट्रिक ७६८० युएसए), रोटरी क्लव अफ भैरहवा, देवदह मेडिकल कलेज, बीएम फाउण्डेशन, र कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पोखरा समावेश थिए। डा. बुद्धिमान श्रेष्ठ, रोटरी क्लव अफ काठमाडौँ नर्थका पास्ट प्रेसिडेन्ट, ले यी संस्थाहरूसँग मिलेर चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोली खटाएको जानकारी दिए ।
शिविरमा सात विदेशी चिकित्सकसहित ४२ जनाको टोली खटाइएको थियो । अमेरिकाबाट न्युरोलोजिस्ट, न्युरो सर्जन, दुई डेन्टल डाक्टर, तीन डेन्टल असिस्टेन्ट र केडीसी काठमाडौँबाट तीन डेन्टल डाक्टर, दुई डेन्टल हाइजिनिष्ट, तीन फार्मासिस्ट र एक पब्लिक हेल्थ अफिसर टोलीमा रहेका थिए। यसका अतिरिक्त, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पोखराबाट ६ जना डेन्टल हाइजिनिष्ट र देवदह मेडिकल कलेजबाट जनरल फिजिसियन, हाडजोर्नी र स्त्रीरोग विशेषज्ञहरू पनि सहभागी थिए ।

शिविरमा मुख र दन्त स्वास्थ्य, आँखा स्वास्थ्य, बालरोग, हाडजोर्नी र नसा, पेट, छाती, प्रसूति र स्त्री रोग, छाला र यौन रोगका परीक्षणहरू गरिएको थियो । सर्वसाधारणलाई स्वास्थ्य सचेतना कार्यक्रम पनि सञ्चालन गरियो, जसमा मुख तथा दन्त स्वास्थ्य र नसर्ने रोगको बारेमा जानकारी दिइयो ।
शिविरमा उच्च रक्तचाप र मधुमेह परीक्षण पनि गरिएको थियो, र विद्यालयका छात्रछात्रालाई निशुल्क टुथब्रस वितरण गरिएको थियो । बिरामीलाई औषधि वितरण पनि गरिएको थियो, जसको मूल्य लगभग चार लाख रुपैयाँ थियो ।

रोटरी क्लव अफ काठमाडौँ नर्थ र रोटरी क्लव अफ म्याथुजको संयुक्त आयोजनामा भएको यो स्वास्थ्य शिविर तेस्रो पटक सम्पन्न भएको हो । यस अघि २०१९ र बीचमा नुवाकोटको गेर्खुटारमा पनि यस्ता शिविर आयोजित भएका थिए । रोटरी क्लव अफ म्याथुजका सदस्यहरूले यस कार्यक्रमको प्रभावकारिता देखेर खुशी व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमहरूमा सहयोगको प्रतिबद्धता जनाएका छन् ।