डडेल्धुरा- डडेल्धुरा अस्पताललाई तीनसय शय्यामा विस्तार गर्ने योजना अघि बढाइरहे पनि यहाँ डाक्टरको अभावको समस्या समाधान हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार अस्पतालको पूर्वाधार विकास भइरहे पनि राजनीतिक हस्तक्षेपका कारण डाक्टरहरू यहाँ टिक्न सकिरहेका छैनन् ।
सोमबार अस्पतालका लागि नवनिर्मित डाक्टर तथा नर्स आवास भवन हस्तान्तरण कार्यक्रममा उनले डडेल्धुरा अस्पताललाई स्तरोन्नति गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) पूरा गरी फाइल अर्थ मन्त्रालयमा पठाइएको बताए । तर, अर्थ मन्त्रालयले फाइल रोकिराखेको कारण थप सुविधा विस्तारमा ढिलाइ भइरहेको उनले जानकारी दिए ।
सचिव पोखरेलले अस्पतालको विकासमा सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिँदै डाक्टरहरूको बसोबासका लागि सुविधासम्पन्न क्वार्टर तयार भइसकेको बताए । उनले डाक्टरको स्थायित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “अस्पतालको सेवालाई प्रभावकारी बनाउन राजनीति भन्दा माथि उठेर काम गर्न जरुरी छ ।”