काठमाडौं- तिलगङ्गास्थित ‘आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर’ले सेवा विस्तार गर्दै १५ शय्याको मानसिक अस्पताल सञ्चालनमा ल्याएको छ । पाँच वर्षअघि मनोसामाजिक समस्या भएकाहरूका लागि काउन्सिलिङ तथा साइकोथेरापी सेवा सुरु गरेको यस अस्पतालले अब व्यापक रूपमा मानसिक स्वास्थ्य सेवामा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
काठमाडौं महानगरपालिका–८ का वडाअध्यक्ष आशामान सङ्गतले अस्पतालको सेवा विस्तारप्रति शुभकामना व्यक्त गर्दै मानसिक स्वास्थ्य सेवामा यस संस्थाले पुर्याएको योगदानको सराहना गरे । उनले महिला नेतृत्वमा सञ्चालित अस्पताललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
अस्पतालकी अध्यक्ष डा. रचना शर्मा बस्नेतका अनुसार अस्पतालले रोकथाम (प्रिभेन्सन), उपचार (ट्रिटमेन्ट) र पुनर्स्थापना (रिह्याविलिटेसन) सहित समग्र मानसिक स्वास्थ्य सेवामा कार्यरत छ । उनले ‘होलिस्टिक एप्रोच’ अवलम्बन गर्दै मेडिसिन, थेरापी तथा काउन्सिलिङमार्फत उपचार प्रदान गरिरहेको जानकारी दिइन् ।
कार्यकारी निर्देशक साधना थापाले २०१९ मा काउन्सिलिङ र साइकोथेरापी सेवाबाट सुरु भएको अस्पतालले अहिले समग्र मानसिक स्वास्थ्य सेवामा विस्तार भएको बताइन् ।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की, काठमाडौं विश्वविद्यालयका सहायक डीन डा. दीपक कुँवर, त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. सरोज ओझा तथा विश्व स्वास्थ्य संगठनका मानसिक रोग विशेषज्ञ डा. केदार मरहट्ठाले अस्पतालको सेवा विस्तारप्रति शुभकामना व्यक्त गरे ।