कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शव वाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए ।
यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुने बताउँदै अध्यक्ष कुँवरले भने, ‘विपन्न नागरिकका लागि यो शववाहनले सहयोग पुग्नेछ ।’ शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत रू १० हजार उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताए । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भने, ‘त्यसमाथि आर्थिक अभावले झनै पीडा दिने अवस्थामा यो यो राहत कार्यक्रमले केही सहयोग पुग्नेछ ।’