

काठमाडौं- अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सिएनएनले जनाएको छ ।
“राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री)गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य संगठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिनुभयो”, एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एडोर्नीले भन्ने, “हामी अर्जेन्टिनीहरू कुनै अन्तर्राष्ट्रिय संगठनलाई हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्न दिनेछैनौँ, विशेष गरी हाम्रो स्वास्थ्यमा ।”
अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लुएचओलाई कोभिड–१९ महामारीको समयमा ‘(अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर)’ आर्थिक क्षति पुर्याएको आरोप लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो । जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट संयुक्त राज्यलाई फिर्ता लिने योजना घोषणा गरेका थिए ।