काठमाडौं– आवासीय चिकित्सकहरूको आन्दोलनका मागहरूमा सरकार सकारात्मक देखिएको छ।
बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, केही वरिष्ठ चिकित्सक र आवासीय चिकित्सकका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा प्रधानमन्त्री ओलीले चिकित्सकहरूको माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।
आवासीय चिकित्सकहरूका प्रमुख मागहरूमा पारिश्रमिक आठौँ तहका सरकारी कर्मचारीको समान ४८ हजार ७ सय रुपैयाँ निर्धारण, ड्युटी समय डब्लुएचओको मापदण्ड अनुसार राख्नु लगायतका छन्। छलफलमा सहभागी स्वास्थ्यकर्मीहरूको अनुसार सरकार उक्त मागहरूमा सकारात्मक रहेको छ। स्वास्थ्यकर्मीहरूको सुरक्षित कार्यस्थल संघर्ष समितिका डा. अमृत भुषालले भने, “अहिलेसम्म आश्वासन मात्र प्राप्त भएको छ, त्यसैले निर्णय नभएसम्म हाम्रो आन्दोलन शान्तिपूर्ण रूपमा जारी रहने छ।”
पहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकहरूको लागि तीन वर्षको अवधिमा २५ हजार, ३० हजार र ३५ हजार निर्वाह भत्ता दिने निर्णय गरेपछि चिकित्सकहरूले असहमति जनाउँदै आन्दोलनमा उत्रिएका थिए ।