
पोखरा – क्यान्सर रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीहरूलाई निःशुल्क किमोथेरापी उपलब्ध गराउने घोषणा गरेका छन् । पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियानको शुभारम्भ गर्दै उनले क्यान्सर रोकथाम र उपचार दुबै क्षेत्रमा सरकारले ध्यान दिने बताए ।
मन्त्री पौडेलका अनुसार, क्यान्सर केवल उपचारमार्फत नियन्त्रण गर्नेभन्दा पनि निरोधात्मक उपायहरू अवलम्बन गर्नु आवश्यक छ । हालसम्म उपचारमा मात्रै ठूलो रकम खर्च भइरहेको भन्दै मन्त्री पौडेलले अब रोकथाम, शीघ्र पहिचान, र कम लागतमा उपचारलाई प्राथमिकता दिने बताए।


