पोखरा – पोखरामा स्थापित कान्तिपुर डेन्टल अस्पताल तथा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेजले आफ्नो २५ वर्षे सेवा यात्राको उत्सव भव्य रूपमा सम्पन्न गरेको छ । रजत जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा संस्थाले विगतको योगदान स्मरण गर्दै भविष्यका योजना सार्वजनिक गरेकाे छ ।
अस्पतालको सेवा र योगदान
कान्तिपुर डेन्टल अस्पताल, काठमाडौँस्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलको भगिनी संस्था, २०५६ सालमा पोखरामा स्थापना भएको थियो । स्थापनाको अढाई दशकमा यस संस्थाले तीन लाखभन्दा बढीलाई प्रत्यक्ष रूपमा दन्त सेवा प्रदान गरेको छ भने विभिन्न समुदाय तथा विद्यालयमा सञ्चालन गरिएका शिविरहरुमार्फत हजारौँ नागरिकलाई सेवा दिएको छ ।
अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार गण्डकी प्रदेशमा मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने संस्थाको रूपमा कान्तिपुर डेन्टल स्थापित भइसकेको छ । “अढाई दशक बितिसकेको पत्तै भएन, तर यस अवधिमा हामीले लाखौँ मानिसको स्वास्थ्य सुधार्न सफल भएका छौँ,” उनले भने ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै कान्तिपुर डेन्टल अस्पतालको योगदानको प्रशंसा गरे । उनले प्रदेश सरकारले एघार वटै जिल्लामा मुख तथा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखेको उल्लेख गर्दै यस अभियानमा कान्तिपुर डेन्टल अस्पतालसँग सहकार्य गर्ने सम्भावना रहेको बताए ।
पोखरा विश्वविद्यालयका डीन प्राडा अमर नागिलाले कान्तिपुर डेन्टलसँग मिलेर ‘ब्याचलर अफ डेन्टल हाइजिन’ कार्यक्रम सञ्चालन गर्ने इच्छा व्यक्त गरे । यसले प्रदेशभरि दन्त स्वास्थ्य सेवा अझ व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले भविष्यमा सेवा अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाए। उनले रजत जयन्तीको अवसरमा माघ महिनाभर विशेष छुट र स्वास्थ्य सुविधाहरू उपलब्ध गराइने जानकारी दिए ।
रोटरियन उर्दिप श्रेष्ठले कान्तिपुर डेन्टल अस्पताल पोखरामा स्थापना गर्न आफ्नो विशेष भूमिका रहेको स्मरण गर्दै विगतका चुनौती र प्रयासबारे बताए। उनले पोखरामा प्रारम्भिक अवस्थामा केवल एक जना मात्र दन्त चिकित्सक रहेको र धेरैलाई उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता रहेको उल्लेख गरे । “त्यस बेला डा. बुद्धिमान श्रेष्ठलाई पोखरामा शाखा खोल्न अनुरोध गरेको थिएँ, जुन आज सफल संस्थाको रूपमा स्थापित भएको छ,” उनले भने ।
कार्यक्रममा पाँच वर्षभन्दा बढी सेवा दिएका १९ जना कर्मचारीलाई विशेष प्रमाणपत्रसहित सम्मान गरिएको थियो । नेपाल डेन्टल एसोसिएसन कास्कीका अध्यक्ष डा. सपना लक्ष्मी तुलाधर, नोवेल एकेडेमीका अध्यक्ष विशेश्वर आचार्य, डा. विशाल गुरुङ लगायतले संस्थाको सफलताको शुभकामना दिए ।