

काठमाडौं – आवासीय चिकित्सकहरूले लामो समयदेखि व्यहोर्दै आएको श्रम शोषणविरुद्ध संघर्षलाई तीव्र बनाउँदै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारीमा रहेका चिकित्सकहरूले उचित श्रम मूल्य, सम्मानजनक कार्यस्थल, र अधिकार सुरक्षणको माग राख्दै सरकारलाई अन्तिम चेतावनी दिएका छन् ।
छैठौं दिनमा प्रवेश गरेको आन्दोलन
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको नेतृत्वमा जारी यो आन्दोलन छैठौं दिनमा प्रवेश गरेको छ। चिकित्सा क्षेत्रका श्रमिकहरूको हकहितका लागि गरिएको निरन्तर संघर्षमा राज्यको मौनताप्रति असन्तोष व्यक्त गर्दै समितिले अब देशभरका चिकित्सकहरूलाई काठमाडौंमा भेला हुन आग्रह गरेको छ।
माइतीघर मण्डलामा सेतो कोटमा धर्ना
आन्दोलनको प्रमुख मोर्चा काठमाडौंको माइतीघर मण्डलामा केन्द्रित हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरूले माग पूरा नभएसम्म सेतो कोट लगाएर धर्ना दिने घोषणा गरेका छन् । यस क्रममा इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सक तथा चिकित्सा क्षेत्रका विभिन्न सङ्घ-सङ्गठनहरूलाई ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ ।
स्वास्थ्य सेवा प्रभावित, सरकारको उदासीनता
आन्दोलन चर्किएसँगै चिकित्सकहरूले ओपीडी सेवा बहिस्कार गर्दै पेन-डाउन गरेका छन्, जसले स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्न थालेको छ । यद्यपि, सरकार र चिकित्सा शिक्षा आयोगले यस विषयमा कुनै ठोस निर्णय लिने संकेत नदेखाएको भन्दै आन्दोलनकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
श्रम शोषणविरुद्धको निर्णायक संघर्ष
चिकित्सकहरू आफ्नो श्रम शोषण अन्त्यका लागि निर्णायक संघर्षको बाटोमा उत्रिएको बताइरहेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले गरेको तीन बुँदे निर्णय खारेज गर्नुपर्ने प्रमुख माग अघि सारेका छन् ।
चिकित्सा क्षेत्रमा कार्यरत श्रमिकहरूको हक संरक्षणको लडाइँ अब निर्णायक मोडमा पुगेको छ । सरकारले यथाशीघ्र सार्थक वार्ता नगरे आन्दोलन अझै तीव्र हुने आन्दोलनकारीहरूको चेतावनी छ ।
