काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली (ईएचआर) लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ जारी गरेपछि यसको कार्यान्वयनको बाटो खुलेको हाे । याे प्रणाली लागू भएसँगै बिरामीले अब अस्पताल जाँदा आफ्ना रिपोर्ट तथा कागजात बोक्नुपर्ने झन्झट अन्त्य हुनेछ ।
डिजिटल प्रणालीले कसरी सहजता ल्याउँछ ?
नयाँ प्रणाली कार्यान्वयन भएपछि बिरामीलाई एक मात्र कोड नम्बर उपलब्ध गराइनेछ । त्यसमा बिरामीको नाम, ठेगाना, उमेरदेखि स्वास्थ्य समस्या, उपचार विधि, प्रयोग गरिएको औषधि लगायत सबै विवरण राखिन्छ ।जसको आधारमा जुनसुकै अस्पतालमा उनका सम्पूर्ण स्वास्थ्य विवरण हेर्न सकिनेछ । यसले उपचारमा पारदर्शिता कायम गर्दै अनावश्यक परीक्षणको दोहोरोपन कम गर्नेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, “हाल बिरामीले हरेक अस्पतालमा गई नयाँ परीक्षण गराउनुपर्ने बाध्यता छ । एकीकृत प्रणाली लागू भएपछि पहिले गरिएका परीक्षण र उपचारको जानकारी स्वचालित रूपमा उपलब्ध हुनेछ, जसले खर्च तथा समय बचत गर्छ ।”