काठमाडौँ- चन्द्रागिरी नगरपालिकाले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान, पराग तथा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको हो ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा सुर्ती सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको उल्लेख छ ।
विज्ञप्तिमा सूर्तीजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपान चन्द्रागिरी नगरपालिका क्षेत्रभित्र बिक्री वितरण पूर्णरूपमा प्रतिबन्ध लगाएको उल्लेख छ ।